Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

विद्युतीकरणले महाभारत गाउँपालिकामा ल्याएको खुसी


नया सडक

२०८१, असार ४ मंगलबार

  • 1.5k
    Shares

  • विद्युतीकरणले महाभारत गाउँपालिकामा ल्याएको खुसी

    धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ का देव तामाङले मःम पसल सञ्चालन गर्दै आउनुभएको पाँच वर्ष भयो । वडा नं ५ को किल्लामा पसल सञ्चालन गर्दै आउनुभएका उहाँले गाउँमा विद्युत्को सुविधापछि आम्दानी पनि बढेको अनुभव सुनाउनुभयो । यसअघि सोलार प्रयोग गरी मःम बनाउने र विभिन्न सामान तयारी गर्दा घाम लाग्ने समयमा मात्रै मेसिन चल्दा कहिलेकाहीँ अप्ठ्यारो हुने भए पनि अहिले केन्द्रीय विद्युतीकरणको सेवा विस्तारले निकै सहज भएको उहाँको भनाइ छ । “अहिले बत्तीको उपभोग गर्न पाएपछि सामान तयार गर्न र फ्रिजमा राख्न सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

     रोशी गाउँपालिका घर भई महाभारत गाउँपालिका–५ मा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका महेश सुन्दासले पनि बत्तीको सुविधाले काममा सहज भएको बताउनुभयो । बत्तीको सुविधापछि मेसिन चलाएर चाँडो काम गर्न सकिएको उहाँले सुनाउनुभयो । केन्द्रीय प्रसारण लाइन पुगेपछि वडा नं ५ चारकिल्लाका कान्छामान ग्लानले गाउँमा नै कुटानी÷पिसानी मिल सञ्चालन सुरु गर्नुभएको छ । आफूले सुरु गरेको सो व्यवसायले गाउँमा पनि सुविधा पुगेको उहाँले बताउनुभयो । गाउँमा नै मिल सञ्चालमा आएपछि मकै, कोदो, फापर र गुहँलगायत तोरी र सस्र्युं पेल्नका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसअघि कुटनीपिसनी तथा तोरी पेल्नका लागि भकुण्डे र बनेपासम्म पुग्नुपर्ने बाध्यता थियो ।

     महाभारत–४ कलवानका स्थानीय दीपेश लामा र वडा नं ३ का दिलकुमार आले मगरले बत्ती पुगेपछि विद्यार्थीको पढाइमा सहयोग पुगेको बताउनुभयो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मुलुक सङ्घीय संरचनामा गएपछि विकट बस्तीमा विद्युत् र सडक सञ्जाल पु¥याउन स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको आयोजना तथा विश्व बैङ्कको लगानीमा २०७७ सालबाट सुरु भई महाभारत गाउँपालिकालाई २०८१ मा पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिएको थियो । “पहिले टुकी बत्तीदेखि केही ठाउँमा साना लघुजलविद्युत् र सोलारमा आश्रित यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन विस्तारपछि खुसी भएका छन् ।” अहिले गाउँमा योजनाबद्ध विकासका आयोजना अघि बढाइएको उल्लेख गर्दै उहाँले डेढ वर्षभित्र कालोपत्र सडकको पनि पहुँच विस्तार हुने बताउनुभयो । साथै खानेपानी, मुख्य सडकदेखि वडाहरु जोड्ने साना सडक निर्माण र कृषि उत्पादनका लागि कफी पकेट क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ । यसका लागि पालिकाले आवश्यक सहजीकरण गरिरहेको उहाँले बताउनुभयो ।
     पूर्ण विद्युतीकरण घोषणाका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिति नरहने अवस्था बनाउने बताउनुभएको थियो । विकटका बस्तीलाई विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्र गतिमा भइरहेको उहाँको भनाइ थियो ।  मन्त्री बस्नेतले महाभारत गाउँपालिकालाई गत जेठ ३१ गते पूर्ण विद्युतीकरण पालिका घोषणा गर्नुभएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस