Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

नेपाली परपरागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना


नया सडक

२०८१, असार ६ बिहीबार

  • 549
    Shares

  • नेपाली परपरागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना

    काठमाडौँ।  उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्ने बताउनुभएको छ । ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘सन् २०२५ मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन’ घोषणासभामा उहाँले नेपाली खानालाई विश्वमाझ लगेर नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो ।

    “स्वदेशमा उत्पादित परम्परागत खानालाई सरकारले प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्छ, नेपाली परम्परागत खानालाई विश्वमाझ फैलाउनुपर्छ”, उहाँले भन्नुभयो । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गर्नुभयो । परम्परागत खानालाई प्रवर्द्धन गर्न सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको उहाँको भनाइ थियो । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले परम्परागत खाना प्रवर्द्धनका लागि बूढानीलकण्ठ नगरपालिका लागेको बताउनुभयो । उहाँले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

    होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि हानले काम गरिरहेको बताउनुभयो । नेपालका पाँच हजारभन्दा बढी होटल नेपाली परम्परागत खाना प्रवर्द्धनमा जुटेको उहाँको भनाइ छ । अध्यक्ष शाहले पर्यटन दशकको समयमा सगरमाथा आधार शिविरमा सेफ्स सम्मेलन गरेर विश्वलाई सकारात्मक सन्देश दिन खोजेको भन्दै एशोसिएसनलाई धन्यवाद दिनुभयो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, रजनी फाउण्डेशनका अध्यक्ष रजनी थापा, वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालगायतले देश र विदेशमा नेपाली खाना प्रवर्द्धनका लागि नेपाली सेफ्सहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

    एशोसिएसनका संस्थापक अध्यक्ष सुरेशचन्द्र बस्नेतको संयोजकत्वमा सन् २०२५ को मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन गरिने घोषणा कार्यक्रममा गरिएको थियो । विसं २०७६ मा स्थापना भएको एशोसिएसनले नेपाली परम्परागत खानालाई देश, विदेशमा प्रचार गर्दै आइरहेको अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । वरिष्ठ सेफ्स थापालाई सम्मान चार दशकदेखि सेफ पेसामा कार्यरत वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालाई सम्मान गरिएको छ । एशोसिएसनको चौथो वार्षिकोत्सवका अवसरमा आज परम्परागत खानाको देश तथा विदेशमा प्रचार गरी यसको विकासमा महत्त्वपूर्ण योगदान दिनुभएका थापालाई सम्मान गरिएको हो । विसं २०४० मा सोल्टी होटलबाट कुक पेसा सुरु गर्नुभएका थापा हाल द छेडि अन्डरम्याट होटल स्वीजरल्याण्डमा कार्यरत हुनुहुन्छ । वार्षिकोत्सवमा उहाँलगायत एनसी एग्रोका सञ्चालक दीपकप्रसाद न्यौपाने, विश्व बौद्ध धर्म सङ्घका अध्यक्ष आनी भीमसुब्बा गुरुङलगायतलाई सम्मान गरिएको थियो । (रासस)

    प्रतिक्रिया दिनुहोस