Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ९ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, असार ९ आइतबार

  • 462
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार ९ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ९ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    विजय लघुवित्तले एफपीओ जारी गर्ने ,  साधारण सभा  असार ३० गते

    काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ)निष्कासन गर्ने भएको छ । 

    एफपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
    शेयर बजार : नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा ,४ अर्ब ३७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा आएको छ ।आज  ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा अधिक चमक आएको देखिन्छ ।

     

    यस दिन ३१७ कम्पनीको ९५ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र रिलायन्स फाइनान्स परेका छन् ।

    हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न , धितोपत्र बोर्डबाट स्वीकृती

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई असार ७ गते हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो।
    कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु हुने

    काठमाडौं ।  जाल्पा सामुदायिक र किसान लघुवित्त एक आपसमा मर्ज भएर असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

     

    दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी खुल्दै, सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौ । एनआइसी एसिया बैंकले सोमबार (असार १० गते) देखि आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला गर्दैछ ।  बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।  न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । 
    यसको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    आज सगरमाथा लुम्बिनी इन्सुरेन्सको ६४ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर भर्ने आज  अन्तिम दिन रहेको  हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंबाट पेश गर्न सकिनेछ ।

    यसपटक रिलायन्स फाइनान्सले  लाभांश वितरण नगर्ने

    काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार  बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ०.३९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०६८.७१ अंकमा आएको छ । ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ५ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।

    १७ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ ।

    जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

    काठमाडौँ । आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका हुन् । जैविक ऊर्जा व्यावसायी सङ्घ नेपालका अध्यक्ष सुशील ज्ञवालीले दाउरा, वनमारा, ब्रिकेट, प्यालेटमा विगतमा दिइएको भ्याट छुट हटाइँदा औद्योगिक इन्धन आयात प्रतिस्थापनको सम्भावना नरहने बताउनुभयो । “एकातिर तयारी उत्पादनलाई पुनः आयात गर्न सहज हुनेगरी पैठारी घटेको छभने अर्कातिर सञ्चालनमा आउँदै गरेका ब्रिकेट, प्यालेटलगायत वन पैदावारमा आधारित उद्योगहरु बन्द हुने अवस्था छ,” अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

    "करमाथि कर थपिँदा स्वदेशी मैदा उद्योगहरू बन्द हुने अवस्थामा" : दिनेशकुमार अग्रवाल, उपाध्यक्ष नेपाल मैदा उद्योग संघ

    काठमाडौं । नेपाल मैदा संघका उपाध्यक्ष दिनेशकुमार अग्रवालले स्वदेशी मैदा उद्योगहरू बन्द हुने अवस्थामा रहेको बताएका छन् । उपाध्यक्ष अग्रवालले मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंँमा सरकारले २.५ प्रतिशत अग्रिम आयकर लगाएकोले देशभरका मैदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।

    सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत् मैदा उद्योगको कच्चा पदार्थ गहुंँमा अग्रिम आयकर लगाएको छ । मुख्यतया मैदा उद्योगको लागि कच्चा पदार्थको रूपमा  प्रयोग गहुँ भारतंबाट आयात हुन्छ । यस्ता उद्योगहरूमा उपयोग हुने कच्चा पदार्थमा सरकारले पाँच प्रतिशत कृषि सुधार शुल्क लिँदै गरेकोमा यस वर्षदेखि २.५ प्रतिशत अग्रिम आयकर समेत लगाएको छ ।

    सरकारले उद्योगहरूबाट उत्पादित मैदा, पिठो, सुजी जस्ता फिनिस्ड गुड्समा  थप १३ प्रतिशत भ्याट लगाएको छ । यसअघि सरकारले यस्ता उद्योगको कच्चा पदार्थमा अग्रिम आयकर २.५ प्रतिशत लिने गरेको थिएन । मैदा संघका उपाध्यक्ष दिनेश अग्रवालले उद्योगीहरूले आम्दानी नै नगरी राज्यले अग्रिम आयकर लिनु अन्याय भएकोले यस्ता स्वदेशी उद्योग बचाउनका लागि सरकारले भ्याट र अग्रिम आयकर छुट दिनुपर्ने बताए ।

    सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत् मैदा उद्योगको कच्चा पदार्थ गहुंँमा अग्रिम आयकर लगाएको छ । मुख्यतया मैदा उद्योगको लागि कच्चा पदार्थको रूपमा  प्रयोग गहुँ भारतंबाट आयात हुन्छ । यस्ता उद्योगहरूमा उपयोग हुने कच्चा पदार्थमा सरकारले पाँच प्रतिशत कृषि सुधार शुल्क लिँदै गरेकोमा यस वर्षदेखि २.५ प्रतिशत अग्रिम आयकर समेत लगाएको छ ।

    सुनको मूल्य तोलामा २७ सयले घट्यो , प्रतितोला १ लाख ४२ हजार रुपैयाँ

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । 

    आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

    नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः उपाध्यक्ष सुवेदी

    काठमाडौँ ।  राष्ट्रियसभाका उपाध्यक्ष विमला सुवेदीले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ । 

     

    सिछुवान(नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले द्विपक्षीय सम्बन्ध पारस्पारिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदानप्रदान माध्यमबाट महत्वपूर्ण आयाम प्रदान गरेको बताउनुभयो । 

     

    उपाध्यक्ष सुवेदीले भन्नुभयो, “चीनले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । चीनको आर्थिक(सामाजिक विकास निकै लोभलाग्दो र अनुकरणीय  छ ।” सूचना र प्रविधिको चमात्कारिक विकासका दृष्टिले विश्व एक गाउँमा रुपान्तरण हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै उहाँले चीनसँग नेपालको दिगो र सन्तुलित विकासका लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताउनुभयो ।

    विदेशबाट फर्किएकालाई लक्षित गरी ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारी छः श्रममन्त्री अर्याल

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताउनुभएको छ ।

    विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका शीर्षकमाथि उठेका प्रश्नको आज प्रतिनिधिसभा बैठकमा जवाफ दिनुहुँदै श्रममन्त्री अर्यालले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यही काम गर्ने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको दावी गर्नुभयो ।

    खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताउनुभएको छ ।

    ‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह तथा प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभयो ।  “युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु”, उहाँले भन्नुभयो, “खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।”

    नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक विकास कार्यक्रमको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिनुहुँदै शिक्षामन्त्री श्रेष्ठले मन्त्रालयको अधिकांश बजेट अनिवार्य दायित्व र वित्तीय हस्तान्तरणबाट तल्लो तहमा जाने प्रकृतिको रहेको बताउनुभएको हो । “शिक्षा मन्त्रालयका लागि रु दुई खर्बभन्दा बढी अर्थात् कुल बजेटको १० दशमलव ९५ प्रतिशत विनियोजन भएको छ । जसमध्ये ७० प्रतिशत रकम वित्तीय हस्तान्तरणका रुपमा स्थानीय तहमा जाने हो”, शिक्षामन्त्री श्रेष्ठले भन्नुभयो, “आकार हेर्दा ठूलो लागेपनि शिक्षा मन्त्रालयका लागि छुट्याएको बजेटमध्ये ९३ प्रतिशत अनिवार्य दायित्वका योजना तथा कार्यक्रमको छ । केबल शून्य दशमलव चार प्रतिशत रकम नयाँ कार्यक्रमका लागि राखेको छु ।”

    मुख्य सचिवसहित ९ जना कर्मचारी विरुद्ध मुद्दा दर्ता ,  मुख्य सचिव अर्याल स्वतः निलम्बित

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था रहेको छ । नेपालको निजामती इतिहासमा  बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको यो सम्भवतः पहिलो पटक हो ।आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    एनआईसी एशिया बैंक वैश्विक अभियान कार्बन एकाउन्टिङ फाइनान्सियलसँग साझेदारीमा सामेल

    काठमाडौं । एनआईसी एसिया बैंकले   कार्बन एकाउन्टिङ फाइनान्सियल्स(पीसीएएफ)सँग साझेदारी गरेको छ ।एनआईसी एसियाले  यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा अगाडि बढाइएको यो एक विश्वव्यापी पहलमा सामेल भइ  उनीहरूको हरितगृह ग्यास उत्सर्जनको क्षेत्रमा ऋण र लगानीसँग जोडिएको विषयमा साझेदारी गर्न पाउँदा गर्व महसुस गरेको जनाएको हो ।

    ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग पीसीएएफले उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रहरूमा द्रुतगतिमा सम्बन्ध विस्तार गरी रहेको जनाउँदै एनआईसी एसिया बैंकले आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्यांकनमार्फत् वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जनाएको छ ।

    इजिप्टले गैरकानुनी रूपमा हज यात्रामा पठाउने संस्थामाथि प्रतिबन्ध लगाउने

    कायरो । इजिप्ट सरकारले प्रशासनको स्विकृति नलिई वा दर्ता नगरी गैरकानुनी रूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेकोमा १६ वटा ट्राभल एजेन्सीको सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

    साउदी सहरमा चरम गर्मीका कारण गत हप्तामा हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टेली तीर्थयात्रीमध्ये ६०० भन्दा बढीको मृत्यु भएको जानकारी आएपछि यो कदम चालिएको हो ।

    हज मृत्यु सङ्कट एकाईको शनिबार आयोजित बैठकमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मडबौलीले यस्ता एजेन्सीहरूको इजाजतपत्र रद्द गर्न र संलग्न व्यक्ति र संस्थालाई सार्वजनिक अभियोजनबमोजिम कारबाही गर्न आदेश दिनुभएको छ ।

    मक्काका लागि दर्ता नभएका तीर्थयात्रीका लागि अवैध र गैरकानुनी माध्यमबाट यात्रा आयोजना गर्ने एजेन्सी वा सम्बन्धित व्यक्तिको विवरण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

    प्रतिनिधिसभा बैठक : सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो ।

    प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिनुभएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

    हेटौँडा सिमेन्ट उद्योग आजदेखि पुनःउत्पादन सुरु

    मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उहाँको भनाइ छ ।

    तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन,१०२ मेवा क्षमताको मध्यभोटेकोशीको विद्युत् जोडिने

    काठमाडौँ । सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ । कूल २२०/१३२ केभी क्षमताको सबस्टेसनमा एक सय ६० एमभिए, एक सय ३२/११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् । 

    ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमा चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन अवस्थामा छ ।

     

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।

     

     
     
     
     
     

     

     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस