काठमाडौं । नकली भ्याट बिल अनुसन्धानमा सहयोग नगर्ने उद्योगी व्यवसायीहरू समस्यामा पर्ने भएका छन् ।आन्तरिक राजस्व विभागले नकली भ्याट बिल अनुसन्धानमा आलटाल गर्ने उद्योगी व्यवसायीहरूलाई यस्तो चेतावनी दिएको हो ।यसअघि आन्तरिक राजस्व विभागले ठुलो संख्यामा नकली भ्याटसम्बन्धी अनुसन्धान अगाडि बढाएको थियो ।
सुरुमा १० अर्ब रुपैयाको कर छली भएको आकलन गरिएको भएपनि अनुसन्धानबाट यो अनुमान भन्दा धेरै ठुलो रहेको सम्बद्ध स्रोतले जनाएको छ ।यसअघि आन्तरिक राजस्व विभागले गर्दै आएको अनुसन्धानबाट ६ अर्ब रुपैया करछली ठहर गरिसकेको थियो । बाँकी अनुसन्धानका फाइलहरूको प्रारम्भिक अध्ययनबाट यो कर छलीको रकम धेरै ठुलो हुन सक्ने स्रोतले जनाएको छ ।
कर छल्ने अधिकांश व्यवसायिक कम्पनीहरू सरकारी तथा अर्धसरकारी निकायलाई मालसमान आपूर्ति गर्दै आएका कम्पनी रहेका छन् । यस्ता कम्पनीहरू मध्ये एक हजार नौ सय ८६ व्यवसायीको नक्कली भ्याट बिललाई अनुसन्धानमा तानिएको थियो । आन्तरिक राजस्व विभागले अनुसन्धान भइरहेको विषयमा विभागका महानिर्देशक शिवलाल तिवारीले दुई तिहाई बढी अनुसन्धान भइसकेको जनाएका बेला विभागले ६ अर्ब बढी कर छली भएको ठहर गरिसकेको थियो ।
कर निर्धारण भइसकेकाहरूलाई कर तिर्न आदेश पत्र पठाइसकिएको र अनुसन्धानमा आलटाल नगर्न भनिएको थियो । कर छली ठहर भइसकेका उद्योगी व्यवसायीहरूलाई असार मसान्तसम्म बुझाउन भनिएको छ । यो अवधिमा करिब ५ अर्ब बढी कर तिर्न भनिएको स्रोतको भनाइ छ ।
डेढ वर्षअघि विभाग तत्कालीन महानिर्देशक नियुक्त भएका दीर्घराज मैनालीले नक्कली भ्याट बिल बनाएर राजस्व चुहावट भएको आशंकामा अनुसन्धान अघि बढाए यता पनि कतिपय फर्महरूमा छापामारी गरिएको थियो । त्यतिखेर कार्यालयले कर निर्धारण गरेको अधिकांश करदाताको कारोबार आव ०७०÷७१ देखि ०७५÷७६ सँग सम्बन्धित रहेको थियो ।
स्रोतका अनुसार कतिपयले अनुसन्धानमा नसघाएर पवार पहुँचको बाटो अवलम्बन गरिरहेको पाइएकोले विभागको तर्फबाट यस्तो चेतावनी आन्तरिक च्यानलबाट दिइएको छ ।