Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शून्य समयः वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग


नया सडक

२०८१, असार २४ सोमबार

  • 342
    Shares

  • शून्य समयः वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गर्नुभएको छ ।

     प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर कुँवर, हेमराज राईले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । मनसुनी विपद्का कारण घरबास गुमाएकालाई पुनर्वासको व्यवस्थासहित राहत उपलब्ध गराउन, घाइतेलाई शीघ्र उपचार गराउन, हराइरहेकाको खोजी तीव्र पार्न र जोखिमका रहेका बस्तीको स्थानान्तरणका लागि सांसदहरुले माग गर्नुभएको हो ।

     शून्य समयमा सांसदहरु शोभा ज्ञवाली, सन्तोष चालिसे, सीताकुमारी राना, सपना राजभण्डारी, सीता मिजार, सुशीला श्रिपाली ठकुरी, सूर्यमान तामाङ दोङले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा शीघ्रता दिन सरकारलाई आग्रह गर्नुभयो । बाढी, पहिराका कारण देशभरका राजमार्ग अवरुद्ध भएको विषय संसद्मा उठाउँदै सांसदहरुले सहज यातायात आवागमनको व्यवस्था गर्न माग गर्नुभयो । बाढी, पहिरो र डुबानको जोखिम भएका स्थान पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, आकस्मिक उपचारका लागि अस्पताल तयार पारिनुपर्ने, उद्धारका लागि हवाई एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेलगायत माग सांसदहरुले माग गर्नुभयो ।
         
     सांसद शान्ति विकले गृहमन्त्रालयले विभिन्न भ्रष्टाचारका काण्ड छानबिनमा ढिलाइ गरेको र राजनीतिक समीकरण फेरबदल हुनुमा वर्तमान सरकारको कार्यशैली जिम्मेवार रहेको आरोप लगाउनुभयो ।
         
     सांसदहरु डा स्वर्णिम वाग्ले र सन्तोष परियारले अहिलेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पक्राउ गरेपछि अरु व्यक्ति पनि पक्राउपर्ने डरले सत्तासमीकरण फेरबदल चलेको आरोप लगाउनुभयो ।
         
     सांसद सम्झना थपलिया हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल उपयोगमा नआउँदै भासिएको सदनलाई जानकारी गराउँदै गलत डिजाइन र कमसल निर्माण सामग्रीका कारण भासिएको बताउनुभयो । उहाँले त्यसबारे अध्ययन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।

     सांसद सरस्वती बजिमयले सुन तस्करी प्रकरणबारे छानबिन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न र प्रतिवेदनले देखाएका दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन माग राख्नुभयो ।

     अर्का सांसद सराज अहमद फारुकीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । मुलुकमा राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । 

     सांसद सूर्यमान तामाङ दोङले पनि राजनीतिक समीकरण बदलिएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा जोड दिनुभयो ।

     सांसद सुशीला थिङले राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने फोटोमा विवाहित महिलाले सिन्दुर पोते लगाउन नपाइने व्यवस्था हटाइनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस