काठमाडौं । खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदलाई यो जानकारी गराएका हुन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए।
रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको गृहमन्त्री लामिछानेले बताए ।
बाढी, पहिरोबाट ३८ जिल्ला प्रभावित भएको गृहमन्त्री लामिछानेको भनाइ छ। बाढी पहिरोबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको उनले बताए।