काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले अब बन्ने सरकार धारा ७६को उपधारा २ र ३ मा बन्ने जिकिर लिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे कानुनविद्हरूसँगको छलफलको आयोजना गरेका छन् ।राष्ट्रपति पौडेलले कानुनविद्हरूसँगको छलफल पछि नयाँ सरकार बनाउन धारा उल्लेख गरी आह्वान गर्ने भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत प्राप्त नगरेपछि अब नयाँ सरकार गठनको बाटो खुलेको छ । दाहालले प्रतिनिधिसभा विश्वासको मत प्राप्त नगरेको पत्र संसद्बाट राष्ट्रपति कार्यालय पुगेसँगै अब सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागी कानुनविद्हरूलाई शीतल निवास बोलाएका छन् ।
कांग्रेस र एमालेका नेताहरूले धारा ७६को उपधारा २ अन्तर्गत सरकार गठन हुने बताइरहँदा सत्तापक्ष माओवादीका नेताहरूले धारा ७६को उपधारा ३ बमोजिम सरकार बन्नु पर्ने बताएका छन् ।शुक्रबार विश्वासको मत लिने क्रममा पनि प्रधानमन्त्री प्रचण्डले संविधान ख्याल गरेर सरकार बनाउन भन्दै त्यसतर्फ संकेत गरेका छन् ।