Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी


नया सडक

२०८१, असार २९ शनिबार

  • 450
    Shares

  • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    दमौली  ।मेरा इनार, न त सत्तल पाटी केही छन् 

    जे चिज र धनहरू छन् घरभित्र नै छन् 

    त्यस घाँसीले कसरी आज दियेछ अर्ति 

    धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य )

    नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भयो । 

    भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ । 

    आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताउनुभयो । भानुगृहको खाका तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उहाँको भनाइ छ । कार्यकारी निर्देशक रानाभाटले भन्नुभयो, “विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन । यसबीचमा थुप्रै छलफल ग¥याँै, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ ।” 

    भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ । विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो । त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने उहाँले बताउनुभयो । 

    विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । 

    यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित हुनुभयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास छ”, उहाँ बताउनुहुन्छ ।

    विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।    

    भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ ।  भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।

    भानु जयन्तीमा आज विशेष कार्यक्रम

    दुई सय एघारौँ भानु जयन्तीको अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछन् । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । 

    सोही अवसरमा रामायण वाचन तथा कविता वाचन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया दिनुहोस