काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सोमबार नै पूर्णता दिने गरी तयारी गरेका छन् ।राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी छ ।
ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । ओलीले नेपाली कांग्रेसका नेतालाई पनि सक्दो छिट्टो नामावली तय गर्न आग्रह गरेका हुन् ।ओली निकट स्रोतका अनुसार यसका लागि आफ्ना निकटतम सहयोगीहरू समेत परिचालन गरेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा इतर समूहले अड्को थापिरहेको खबर पछि ओली विशेष सक्रिय भएका हुन् ।
उनका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवालाई विशेष आग्रह गरिएको छ ।सरकारमा सहभागी हुने साना दलहरुलाई दिएर बाँकी रहेको मन्त्रालय आधा–आधा गर्नेगरी देउवा र ओलीबीच छलफल भइरहेको छ । दुवै शीर्ष नेताले प्रधानमन्त्री पदको बाँकी कार्यकाल पनि आधा आधा बाँड्ने गरी सहमति भएको भनी सम्झौता भएको भनिएको छ ।