काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ । त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।
त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।