Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली


नया सडक

२०८१, साउन २ बुधबार

  • 438
    Shares

  • निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली

     

    काठमाडौं । सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटमा प्रधानमन्त्री ओलीले मंगलबार निजी क्षेत्रको विस्तारबिना विकास सम्भव नभएको बताएका हुन् ।

    महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य सम्मिलित भेटमा उनले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने र उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने सरकारको नीति रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सँगै थिए ।

    मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको उनको भनाइ छ ।

    सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालले जनाए । निजी क्षेत्रलाई मर्यादाक्रमा समावेश गर्नेलगायत गैरमौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालले बताए । 

    उद्यम व्यवसाय सम्बद्ध नियामकीय निकायहरूले आपसमा समन्वय बढाई लगानी प्रोत्साहन गर्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ । अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताए । 

     

    प्रतिक्रिया दिनुहोस