काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ विद्युत् भुक्तानी विवाद मिलाउन सरोकार भएका निकायसँग छलफल गर्नुभएको छ ।
निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ वापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुली काट्न सुरू गरेपछि भएको विवादलाई समाधान गर्न मन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँग छलफल गर्नुभएको हो । उहाँले भुक्तानी विवाद भोलिसम्म नित्कर्षमा पु¥याउन दुवै पक्षलाई आग्रह गर्नुभयो। “विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढङ्गले टुङ्गोमा पुर्याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ । यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ”, मन्त्री खड्काले भन्नुभयो ।
छलफलमा मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव तथा उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।