Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

सरकारी अस्पतालमै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

सरकारी अस्पतालमै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

  • काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत्  सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९÷८०का तुलनामा आव २०८०र८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०र८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए ।  

    आव २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । उहाँले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताउनुभयो । यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा अधिकारीले बताउनुभयो ।  

    उहाँले भन्नुभयो, “तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।”अस्पतालका निर्देशक डा अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताउनुभयो । “विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ” उहाँले भन्नुभयो, “तर हामीकहाँ ४० बिरामी बराबर तीन  नर्स  कार्यरत छन् । त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।”

    उहाँका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिनुभयो । 

    अस्पतालले दुई वर्षदेखि शिशु जन्माउदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उहाँको भनाइ छ । “शिशु जन्माउने क्रममा अत्यधिक दुखाइ भयो भने शल्यक्रियाको सट्टा दुखाई कम गराउने सेवा दिन्छौँ” उहाँले भन्नुभयो, “यो सेवा दिनमा हामीले दुईदेखि तीन जनासम्मलाई मात्र दिनसक्छौँ ।”अस्पतालका दैनिक ६० देखि ७०  सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृमृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij