Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन ६ आइतबार

  • 489
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ६ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ३०५.६७ गुणा बढी आवेदन

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ३०५।६७ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

     

    जसमा ९ लाख ५३ हजार ८८३ जना आवेदकहरुले १ करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

    बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको कुरा आयो : वर्षमान पुन

    काठमाडौ ।निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय उठाएको आरोप लगाउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले माग्नुभएको विश्वासको मतको विपक्षमा आफ्नो दल रहेको धारणा राख्नुहुँदै पुनले कुनै ठूला काण्ड ढाकछोप गर्न संविधान संशोधनको मुद्दा अघि सारिएको हुनसक्ने शङ्का व्यक्त गर्नुभयो ।

     

    “बेमौसममा संविधान संशोधनको कुरा आएको छ । खराब र बदनियतपूर्ण तरिकाले सत्ता समीकरण बन्यो कि भन्ने प्रश्न उठिरहेको बेला केही कुरा छोप्न यो विषय ल्याइएको हो कि भन्ने आशङ्का छ”, पुनले भन्नुभयो, “असल नियतले ल्याएको कुराभन्दा गलत तरिकाले सत्ता समीकरण भएको र त्यसलाई छोप्न संविधान संशोधनको कुरा अघि सारेको देखिन्छ । महिला, दलित, जनजातिले पाएका अधिकार खोस्न संशोधन गर्न खोजेको देखिन्छ ।”

    शेयर बजार : नेप्से सूचक ६१.६१ विन्दुले बढेर २४८५.९४ अंकमा , १५ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

    काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम रु १५ अर्ब नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

     

    आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै छ दशमलव ८० प्रतिशतले बढेको छ ।

    बैंकिङ तीन दशमलव ८६, विकास बैंक एक दशमलव ४१, वित्त एक दशमलव ५१, होटल तथा पर्यटन चार दशमलव २१, जलविद्युत् एक दशमलव ३७ र लगानी समूह दुई दशमलव ६८ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन दुई दशमलव ९७, लघुवित्त एक दशमलव ६१, म्युचुअल फन्ड एक दशमलव ५२, निर्जीवन बीमा शून्य दशमलव ६५ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ ।

    शेयर बजारमा आएको हरियालीलाई समग्र अर्थतन्त्रमा ल्याउने प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर बजारको हरियाली समग्र अर्थतन्त्रमा ल्याउन विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले शेयर बजारमा देखिएको उत्साह नयाँ सरकारप्रतिको विश्वासको प्रमाण भएको बताउँदै यस्तो बताएका हुन् ।

     

    आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा सेयर बजारमा देखिएको उत्साहलाई अब पूरै बजारमा फैलाउने प्रधानमन्त्री ओलीले  बताए ।

    ओलीले भने ‘उत्साहको शृंखला प्रारम्भ भएको छ। अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ। ५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो दुई सतामा ४०० अंकले बढेको छ ।सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो।

    न्युरोडको फुटपाथको विस्तार विरोधमा वडा कार्यालय २२द्वारा सडकमै पाल टाँगेर वडा सेवा सञ्चालन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्युरोडको सडकबाटै पाल टाँगेर वडा सेवा सञ्चालन सुरु गरेको छ ।मेयर बालेन शाहको नेतृत्वको महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज थालेका हुन् ।

     

    संकटा मन्दिरनेर रहेको वडा कार्यालय अब यहीँ सडकबाट सञ्चालन हुन्छ, सिफारिसदेखि अन्य सबै काम यहाँबाट थालेको वडासदस्यहरूले बताएका छन् ।न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने उनीहरूले बताए ।

    बङ्गलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

    झापा ।  बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।

     

    “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भन्नुभयो, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उहाँले जानकारी दिनुभयो । 

     

    बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताउनुभयो ।

     

    सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ । 

     

    भेटमा उहाँहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । 

     

    त्यस अवसरमा मन्त्री गुरुङले प्राकृतिक विपत्तिको सामना, पर्वतारोहणका क्रममा हुने दुर्घटनामा उद्धार तथा खोज, सूचना प्रविधिको विकासमार्फत समृद्धि हासिल गर्ने विषयमा सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभएको थियो । उहाँले रोजगारी सिर्जना र सूचना प्रविधिको विकास तथा  विस्तारमार्फत पलयान हुँदै गएको युवा जनशक्तिलाई नेपालमै उपयोग गर्नेलगायत विकास प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गर्नुभएको थियो ।

    बङ्गलादेश : आरक्षणसम्बन्धी आदेश ‘गैरकानूनी’ ठहर

    ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस बर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । 
    एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिनेगरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । 
    विवादास्पद निजामती सेवा भर्ती नियमहरू पूर्णरूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई बेवास्ता गरेको विपक्षीहरूको आरोप छ । 
    आरक्षण दिने निर्णयले देशव्यापी रूपमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबीच झडप निम्त्याएको थियो । आन्दोलनका क्रममा १५१ जनाको मृत्यु भएको छ । 
    सरकारी जागिरका लागि राजनीतिकरण गरिएको भर्ना कोटाको विरोधमा सुरु भएको विरोधमा यसै साता शुरू भएको प्रदर्शन प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ ।
    दङ्गा प्रहरीले सुव्यवस्था कायम गर्न नसकेपछि बङ्गलादेशका विभिन्न शहरमा सैनिकले गस्ती गरिरहेका छन् भने बिहीबारदेखि देशव्यापी इन्टरनेट अवरोध भएको र यसका कारण बाहिरी विश्वमा सूचना प्रवाहमा समस्या भएको छ ।

    उद्योगीको लाइन जोडन प्रधानमन्त्री ओलीको मौखिक आदेश नमानेपछि विद्युत नियमन आयोगद्वारा पत्र पठाउन लगाइयो

    काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन बक्यौता भुक्तानी विवादमा बिजुली लाइन काटिएका उद्योगीहरूको लाइन जोड्न अर्को घुमाउरो  उपाय खोजिएको छ ।प्रधानमन्त्री केपी शर्माले मौखिकरूपमा उद्योगीहरूको लाइन जोड्न दिएको आदेश नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  अस्वीकार गरेपछि यस्तो उपाय खोजिएको हो ।विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा लाइन काटिएका विभिन्न ६ उद्योगमा विद्युत उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।सो आयोगले आइतबार प्राधिकरणलाई निर्देशन दिएको हो ।

     

    आयोगका अध्यक्ष रामप्रसाद धितालले विद्युत उपभोक्ता हित संरक्षण निर्देशिकामा भएको व्यवस्था अनुसार प्राधिकरणलाई लाइन जोड्न पत्र पठाएको जानकारी सार्वजनिक गरेका छन् ।निर्देशिकामा उपभोक्ता वा सेवाग्राहीले वितरण अनुमतिपत्र प्राप्त व्यक्ति वा विद्युत वितरण गर्ने सामुदायिक संस्थाको कामकारबाहीसँग सम्बन्धित विषयमा सूचना वा निवेदन सो वितरण अनुमतिपत्र प्राप्त व्यक्ति वा विद्युत वितरण गर्ने सामुदायिक संस्थालाई प्रदान गरेपश्चात् त्यसको सन्तोषजनक कारबाही नभएमा वितरण वा उपभोक्ता सेवा कार्यालयसमक्ष लिखितरूपमा वा विद्युतीय प्रविधिको माध्यमबाट गुनासो पेश गर्न सक्ने व्यवस्था अनुसार उद्योगीले साउन ४ गते आयोगमा उजुरी गरेका थिए।

    गत आवमा ट्राफिक प्रहरीबाट पौने दुई अर्ब बढी रुपैयाँ राजस्व संकलन

    काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा जरिवाना वापत पौने दुई अर्ब बढी रुपैयाँ राजस्व संकलन गरेको छ ।गत  आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरीले यस्तो जनाएको हो । यो आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको हो ।

     

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार सवारी कारबाहीमार्फत राजस्व संकलन प्रहरीको मुख्य जिम्मेवारी नभएपनि यातायात व्यवस्था ऐन अन्तरगत कारबाही गर्ने गरिएको छ ।

    प्रतिवेदन अनुसार  आर्थिक वर्ष ०८०÷८१ मा २२ लाख ९१ हजार ८१७ जनालाई कारबाही गरेर पौने दुई अर्ब बढी रुपैयाँ राजस्व सरकारी कोषमा जम्मा गरिएको छ ।अघि आर्थिक वर्ष ०७९÷८० मा एक अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।

    देश बिचौलियाले चलाउने खतरा बढेको माओवादी नेता पुनको चिन्ता

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको चिन्ता व्यक्त गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्ने क्रममा  पुनले  यस्तो बताएका हुन् ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको उनले संकेत गरे । 

     

    आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रेसका  नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।

    यस्तो छ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति (पूर्ण पाठ)

    काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराउनुभएको हो । उहाँले सदनलाई जानकारी गराउनुभएको सहमतिका सातवटा बुँदा यसप्रकार रहेका छन् । १ आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने छ ।२ राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल पक्ष र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने छ । 

    शेयर बजारमा आएको हरियालीलाई समग्र अर्थतन्त्रमा ल्याउने प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत दिन सभामुखको अनुमतिले प्रस्ताव प्रस्तुत गरेका छन् ।प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गर्दै विश्वासको मत मागेका हुन् ।

     

    उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको प्रधानमन्त्रीले वाचन गरे ।

    सीजीनेटद्वारा उच्चगतिको अत्याधुनिक वाईफाई सिक्स उपकरण सहितको सेवा घोषणा

    काठमाडौँ - सुलभ र गुणस्तरीय इन्टरनेट सेवाप्रदायक सीजीनेट ( CGNET ) ले उच्चगतिको अत्याधुनिक वाईफाई सिक्स ( WiFi–6)
    उपकरण सहितको सेवा घोषणा गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्चगतिका साथ एकै पटकमा १५ देखि २० जना सम्म प्रयोगकर्तालाई सुरक्षाको हिसाबले कम जोखिम र उच्चगतिको इन्टरनेट सेवा प्रवाह क्षमताका साथै अन्य थप आकर्षक विशेषता भएको यो प्रविधिले ग्राहकको सुरक्षित र उच्चगतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने जिकिर कम्पनीले गरेको छ ।

     

    सुलभ मुल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवाप्रदान गरिरहेको सीजीनेटले हाललाई यो प्रविधि र सेवा काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा बिस्तार भएका स्थानहरुमा उपलब्ध गराइने जनाएको छ । आफ्ना विद्यमान ३५० एमविपीएस भन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमविपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यहि श्रावण ११ गते सम्मको लागि निशुल्क यो प्रविधि उपलब्ध गराउने घोषणा गरेको कम्पनीले बाँकी ग्राहकहरुको लागि ६६६ एमबिपिएस इन्टरनेटको बार्षिक रु.१९,४४९ र ६६७ एमबिपिएस इन्टरनेट र आईपी टिभीको रु.२३,७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ ।

    दरबार मार्गस्थित क्यासिनो प्यालेस बन्द, के गर्दै छन् पर्यटक विभाग र राजस्व अनुसन्धान विभाग ?

    काठमाडौं ।दरबार मार्गको ‘क्यासिनो प्यालेस’ अहिलेसम्म खुल्न सकेको छैन् । होटल डेल अन्नपूर्णाको परिसरमा रहेको ‘क्यासिनो प्यालेस’ एक महिना अघि देखि बन्द रहेको छ ।राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलन भएको आशंकामा गत जेठमा  छापा हानेपछि बन्द रहेको क्यासिनो प्यालेस अहिले सम्म खुल्न सकेको छन् ।

     

    पर्यटन विभागले लिगल पाटो देखाउँदै क्यासिनो नवीकरण हुन नसक्ने बताएपछि राजस्व अनुसन्धान विभागले  छापा हानेपछि  बन्द भएको क्यासिनो अहिलेसम्म खुल्न नसकेको हो ।क्यासिनोका सञ्चालक विनय शाहले  ‘होटल नरहेको स्थानमा क्यासिनो सञ्चालन हुन नसक्ने भन्दै पर्यटन विभागले क्यासिनोको नवीकरण हुन नसक्ने जनाएको’ बताए ।

    राजस्व अनुसन्धान विभागले छापा हानेर नियन्त्रणमा लिएको क्यासिनोको कागजपत्र र रकम  अहिले पनि राजस्व अनुसन्धान विभागको अनुसन्धानको क्रममा रहेको छ ।यता पर्यटन विभाग आफैले निलम्बन गरेको क्यासिनो फेरि फुकुवा गर्न लागि परेको छ ।
    निलम्बित क्यासिनो फुकुवा गर्न पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित र केही व्यावसायीहरूसमेत लागि परेको स्रोतले बताएको छ ।

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    काठमाडौँ ।  एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल  नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

     

    प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो । रासस

    कोशी, बागमती, गण्डकी, लुम्बिनी ,सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी  वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

     

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।  कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस