Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज विभिन्न कार्यक्रम गरी पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै


नया सडक

२०८१, साउन ७ सोमबार

  • 399
    Shares

  • आज विभिन्न कार्यक्रम गरी पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् ।पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उनको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।

    प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । शान्तिपूर्ण आन्दोलनका साथै सशस्त्र सङ्घर्ष, कम्युनिष्ट पार्टीमा आएका विभाजन, कम्युनिष्ट एकताका प्रयास, कम्युनिष्ट नेतृत्वको सरकारले गरेका काम र जनमुखी कार्यक्रमबारे कार्यपत्रमा समेटिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

    जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस