Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

ललितपुरमा चार जनामा हैजा पुष्टि


नया सडक

२०८१, साउन १० बिहीबार

  • 555
    Shares

  • ललितपुरमा चार जनामा हैजा पुष्टि

    काठमाडौँ ।  ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिनुभयो । 

    हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन्  भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

    ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताउनुभयो । 

    उहाँले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिनुभयो । शाखाका प्रमुख डा पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दुषित रहेको बताउनुभयो । “इनारको पानीमा दिसाको जीवाणु देखियो”, उहाँले भन्नुभयो, “त्यहीबाट हैजा फैलिएको हो ।” 

    उहाँले भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरुबाट अन्यमा सर्ने सम्भावना कम भएको बताउनुभयो । उहाँले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर खान अनुरोध गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस