Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, साउन १४ सोमबार

  • 474
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १४  सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    यस्ता छन् मन्त्रीपरिषद बैठकका ११ निर्णय (सूचीसहित )

    काठमाडौँ । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिव १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । सोमवार सिंहदरबारस्थिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २०८१ साल साउन १० गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन।

     

    सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिव १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । सोमवार सिंहदरबारस्थिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २०८१ साल साउन १० गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन।

    संस्थापक शेयरको लकइन अवधि बढाइने

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाको संस्थापक शेयरको हाल कायम लकइन अवधि बढाउने योजनामा रहेको बताएको छ । 

    संस्थापक शेयरको लकइन अवधि हाल ३ वर्ष रहेको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि कम्तीमा ३ वर्ष संस्थापक शेयर बेच्न पाइँदैन । संस्थापक शेयरधनीहरूले यो समयावधि अझै घटाउन दबाब बढाउँदै आएका छन् ।

    आइतवार आर्थिक वर्ष (आव) २०८१/८२ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले लकइन परिमार्जन गर्ने घोषणा गरेको छ ।

    नेटवर्थ तथा प्रिमियम मूल्यमा एकरुपता ल्याउन नेपाल धितोपत्र बोर्ड नीति तयार गर्दै

    काठमाडौं। आइपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता ल्याउन  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले  नीति बनाउने भएको छ ।सेबोनले सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता ल्याउन नीति बनाउने काम सर्वाजनिक लेखा समितिको निर्देशन समेतलाई ध्यान दिएर अगाडि बढाउने भएको हो ।

     

    सेबोनले सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यान दिएर मानदण्ड तयार पार्न लागेको छ ।२०८० पुस १२ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न दिएको विषयमा प्रश्न उठाइ  प्रिमियम मूल्यमा आइपीओ निष्कासनमा अंकुश लगाउँदै बुकबिल्डिङ प्रक्रियामार्फत निष्कासन गराउन निर्देशन दिएको थियो।

    अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन

    काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। 

     

    आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिएका हुन्। 

    ‘राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा छौं । चलन चल्तिका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैन,’ अर्थमन्त्री पौडेलले भने, ‘चलन चल्तिको अभ्यासबाट माथि उठौं। कमीकमजोरीको स्वमूल्यांकन गरौं ।  चुहावटलाई नियन्त्रण गरौं। राजस्व परिचालनमा कमजोरी हुन नदिऔं।’

    शेयर बजार : नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा , १९ अर्ब ६० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा आएको छ । २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आज १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
    यस दिन ३२५ कम्पनीको ४ करोड ७७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६१ करोड १२ लाखसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनएमबि बैंक परेका छन् ।

    सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुने

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधवार अन्तिम बाँडफाँटको तयारी गरेको हो । 
    सूर्योदय वोमी लघुवित्तले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपीओ साउन ४ गतेदेखि ८ गतेसम्म विक्री गरेको हो । कम्पनीको एफपीओ खरीदका लागि १६ लाख ५९ हजारभन्दा बढीको आवेदन परेको छ ।

    सुनको मूल्य तोलामा चार सयले वृद्धि , प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँ

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

    आज नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं  एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदा दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम ७०७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।  न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरुमा   पेश गर्न सकिनेछ ।

    एसियन लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकेको छ । 

     

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले १५ दिनभित्र इन्सुरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

    विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

    काठमाडौँ ।  मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

     

    प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

    सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री पौडेल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ । तर नेपालमा यो दर कायम हुन सकेको छैन । सुर्तीजन्य पदार्थको कर बढाएर, यसको प्रचार र विज्ञापनमा नियन्त्रण गरेर, आम नागरिकलाई धुम्रपानको जोखिमबाट सुरक्षित बनाएर, प्याकेजिङ र लेबलिङमा चेतावनी सन्देश राखी जनतामा यसको चेतना बढाएर नियन्त्रण गर्न सकिन्छ ।”

    सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारका लागि विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर ऋण लिने

    काठमाडौं। सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारका लागि विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ। पहिलो चरणका लागि १० करोड (१००) मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने भएको हो। साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

     

    उनका अनुसार विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६४० गरिब परिवारको सूची मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको छ। नुवाकोट, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, धनुषा, बारा, पर्सा, सप्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रूपन्देही, गुल्मी, बैतडी, र कञ्चनपुरका गरिब परिवारको अन्तिम सूची मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको हो।

    व्यापार लजिजिस्टक नीतिमा आवश्यक सुधार गर्न सरकारलाई सुझाव

    काठमाडौं । सरकारले लामो समयको प्रतीक्षापछि  व्यापार लजिष्टिक नीति जारी गरेकोमा सरोकारवाला पक्षबाट स्वागत गर्दै यसमा देखिएको आवशयक सुधारका लागि सुझाव दिइएको छ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको ३०औँ कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी अतिथिहरूको स्वागत गर्दै यस्तो जानकारी दिइएको हो ।

     

    आर्थिक समृद्धिको लागि आधुनिक, सक्षम एकिकृत व्यापार लजिष्टिक प्रणाली स्थापना गर्ने र व्यापार लजिष्टिक लागत घटाई अन्तर्राट्रिय व्यापारलाई प्रतिस्पर्धी बनाउने उद्देश्य र लक्ष्य स्वागत योग्य भएको भनिएको थियो । नेपालको लजिष्टिक लागत कुल ग्रार्हस्थ उत्पादनको २०% भन्दा बढी छ। यसलाई घटाएर अन्तर्राट्रिय व्यापारलाई प्रतिस्पर्धी  बनाउन सरकार र नीजी क्षेत्रको समझदारी र सहकार्यको आवश्यकता औँल्याइयो ।

    हुलास समूहले देशकै सबै भन्दा ठुलो गल्वनाइजिङ युनिट स्थापना गर्दै हुलास दिवस मनायो

    काठमाडौं । हुलास समूहले देशकै सबै भन्दा ठुलो गल्वनाइजिङ युनिट स्थापना गरी हुलास दिवस मनाएको छ । हुलास समूहले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘  औद्योगिकरणका सुत्रधार एवम् सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व.दिवाकर गोल्छाज्यूको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माणप्रति निष्ठावान रही स्वदेशमै राजेगारी श्रृजना गर्ने ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा संस्थापक दिवस मनाउंदै आईरहेका छौ । आज २०८१ श्रावण १४ गते संस्थापक दिवस का रुपमा विशेष महत्वका साथ मनाउन पाउंदा हामी अत्यन्त हर्षित भएकाछौं । यस विशेष अवसरमा उद्योगको कारखाना स्थल लगायत काठमाण्डौ स्थित करपोरेट कार्यालय, पोखरा, चितवन, बिराटनगर लगायत अन्य शाखा कार्यालयहरुमा आंखा परिक्षण, बृक्षरोपण तथा आर्थिक सहयोग प्रदानका कार्यक्रमहरु समेतको आयोजना गरिएको जानकारी गराउन पाउंदा खुशी लागेको छ ।’

    जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे ........

    काठमाडौँ । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नुु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उहाँ जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् । उहाँहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिनुभयो । 

     

    प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा  विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गर्नुभयो । तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री ओलीको परिवार  २०२० सालमा झापा बसाइ सरेको हो ।

    वीरगञ्जमा पक्राउ परेको ६ सय केजी काजुसहित मेथी र ज्वानो हरलालका एग्जिम प्रालिको भएको खुल्यो, कस्तो कारोबार गर्छ हरलालकाले ?

    वीरगञ्ज ।पर्साको वीरगञ्जमा पक्राउ गरिएको ६सय केजी काजुसहित मेथी र ज्वानो हरलालका एग्जिम प्रालिको भएको खुलेको छ ।काठमाडौंको कुलेश्वरमा ठेगाना रहेको हरलालका एग्जिमले ल्याएको  ६ सय केजी काजु , मेथी र ज्वानो तथा अन्य सामान लोड गरिएका ट्रकहरू राजस्व छलीको आशंकामा पर्सा प्रहरीले पक्राउ गरेको हो ।

     

    पर्सा प्रहरीले गत साउन ९ गते  वीरगञ्ज महानगरपालिका २५ स्थित सडकखण्डबाट ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरका ट्रकहरू नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार एक करोड बयासी लाख भन्दा बढीको काजु, ज्वानो र मेथीलगायतका मालवस्तु राजस्व छलीको आशंकामा राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।

    सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न ,बिहीवार बैठक बसेर टुंग्याइने

    काठमाडौँ ।  सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो । आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । 

     

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो । एमालेका मुख्य सचेतक बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो ।  

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस