Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

  • टीकापुर (कैलाली)।  स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा जानुभएको थियो, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गर्नुभयो । “काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन”, उहाँले भन्नुभयो, “वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले पाँच घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो,” उहाँले दुःख पोख्नुभयो । टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुग्नुभएको थियो । बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो । सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उहाँले पनि बच्चालाई सहज रूपमा स्तनपान गराउन सक्नुभएन । छेउकुना लागेर सङ्कोचपूर्वक मजेत्रोले नानीलाई दूध चुसाएको उहाँले बताउनुभयो ।

    पोषणविज्ञहरूका अनुसार शिशुलाई आमाको दूध अमृत समान हो । छ महिनासम्म निरन्तर खुवाउनुपर्छ । छ महिनापछि पनि पोषिला खानेकुरासँगै दुई वर्षसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्छ । स्तनपानबारे नवप्रसूताहरूलाई सिकाउने गरेको टीकापुर–८ का महिला स्वास्थ्य स्वयंसेविका मीना टमटा बताउनुहुन्छ । “हामीले शिशुलाई छ महिनाको हुँदासम्म २४ घण्टामा १० देखि १२ पटकसम्म दूध चुसाउनुपर्छ, छ महिनापछि आमाको दूधसँगै थप खानेकुरा खुवाउन सिकाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, । शिशुलाई स्तनपान नगराउँदा स्वास्थ्य कमजोर हुनुका साथै विभिन्न रोग लाग्न सक्छन् ।

    सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउनुहुन्छ । स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उहाँको जोड छ । टीकापुर नगरपालिका कार्यालय र विजयनगर सहरी स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्तनपानकक्ष निर्माण छन् । यी स्तनपानकक्ष पनि फाट्टफुट्टमात्र प्रयोग हुने गरेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ । “स्वास्थ्य संस्थामात्र होइन, सेवाग्राही आउने हरेक कार्यालयमा स्तनपानकक्ष आवश्यक छ”, उहाँले भन्नुभयो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पुराना भवनमा स्तनपानकक्ष नभए पनि अब बन्ने भवनमा स्तनपानकक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।(रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij