Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव


नया सडक

२०८१, साउन २६ शनिबार

  • 348
    Shares

  • बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ ।

    यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो । अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राख्नुभएको थियो ।

    अध्यक्षले राख्नुभएको धारणाकाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राख्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

    समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित  संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताउनुभयो ।

    बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

    पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उहाँको भनाइ छ । बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस