Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

निर्जीवन बीमा कम्पनीको नाफा ५२.८१ प्रतिशतले बढ्यो


नया सडक

२०८१, भदौ ३ सोमबार

  • 369
    Shares

  • निर्जीवन बीमा कम्पनीको नाफा ५२.८१ प्रतिशतले बढ्यो

    काठमाडौं । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५२ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष यी कम्पनीहरुले कुल रू ४ अर्ब ८६ करोड भन्दा बढी नाफा कमाएकोमा गत वर्ष बढेर रू ७ अर्ब ४३ करोड भन्दा बढी पुगेको छ । 

    १४ कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले गत वर्ष रू ७० करोड ६ लाखनाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको तुलनामा ८७ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीले रू। ३७ करोड ३० लाख नाफा कमाएको थियो । 
    त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले रू। ६९ करोड २३ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८२ दशमलव ५२ प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्ष कम्पनीले रू ३७ करोड ९३ लाख नाफा कमाएको थियो । 

    यी १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कम नाफा एनएलजी इन्स्योरेन्स कम्पनीको रहेको छ । यस कम्पनीले गत वर्ष रू। २५ करोड ३३ लाख नाफा कमाएको छ । त्यस्तै नेशनल इन्स्योरेन्स कम्पनीले रू २६ करोड ६७ लाख  नाफा कमाएको छ । 

    यी कम्पनीहरुमध्ये अघिल्लो वर्षको तुलनामा यी दुई राष्ट्रिय बीमा कम्पनी र नेको इन्सुरेन्स कम्पनीको नाफा गत वर्ष घटेको हो भने बाँकी सबै कम्पनीको नाफा बढेको छ ।  प्रतिशतका आधारमा सबैभन्दा बढी आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५६ दशलमव ६७ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीले अघिल्लो वर्ष रू। २३ करोड ८४ लाख नाफा कमाएकोमा गत वर्ष बढेर रू ६१ करोड २१ लाख पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस