Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन :यस्ता छन्  भदौ ६ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 351
    Shares

  • नयाँसडक बुलेटिन :यस्ता छन्  भदौ ६ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  भदौ ६ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    सनराइज फर्स्ट म्युचुअल फन्डको १२.५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सनराइज फर्स्ट म्युचुअल फन्डको १२.५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११.९७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको इकाई मूल्य १०.७२ रुपैयाँ कायम भएको छ ।

    सरकारद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाईआग्रह

    काठमाडौँ ।  सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । 

     

    अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको हो । 

     

    पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नु भएको थियो । उहाँले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गर्नभुयो । 

    शेयर बजार : नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा, १९ अर्ब १६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा आएको छ । आज १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ७ वटा समूहका सूचक हरिया भएका छन् ।

     

    यस दिन ३३३ कम्पनीको ४ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्बभन्दा बढीसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    नेशनल फण्ड म्यानेजमेन्टले अवितरित हकप्रद शेयर भदौ १३ गतेदेखि लिलामी गर्ने

    काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद शेयर भदौ १३ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट ५० प्रतिशत हकप्रद शेयर संस्थापक शेयरधनीहरूलाई विक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

     

    सो बमोजिम कम्पनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म ५४ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ५४ करोड रुपैयाँको आधारमा प्रति शेयर ५० रुपैयाँ अंकित मूल्यमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा ११ लाख ७२ हजार कित्ता शेयर भने वितरण हुन नसकेको हो ।

    सुनको मूल्य प्रतितोला ११ सयले घट्यो, प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ३५ रुपैयाँ रहेको थियो ।

    नेपाल ल्युब आयलको खुद नाफा ७१९.६० प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१९.६० प्रतिशत धेरै हो ।

     


    ९२ करोड ६६ लाख रहेको उक्त आम्दानी १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रहेको छ । यता, वित्तीय खर्च पनि ४ करोड २५ लाखबाट घटेर ३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । ६ करोड ७ लाख १८ हजार ९०० रुपैयाँ चुक्ता पुँजी रहेको आयलको रिटेन्ड अर्निङमा २४ करोड ३७ लाख रहेको छ । अन्य इक्विटी ९ करोड ४६ लाखको छ । यसको प्रतिसेयर आम्दानी ७३।२७ रुपैयाँ रहेको छ ।

     

    आज एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी ९एचआइडीसीएल० को १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसा आवेदन दिन सकिनेछ ।
    न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।  ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ६ गते बिहीबार १ डलरको भाउ  १३४ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
    आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा खरिद दर १७४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

     

     अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    आज सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डले नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज भदौ ६ गते बिहीबार अन्तिम दिन हो । यी दुवै फन्डले नगद लाभांश वितरण गर्न भदौ ७ गते बुक क्लोज गर्नेछन् । यसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्रै फन्डले गत वर्षको नाफाबाट वितरण गर्न लागेको नगद लाभांश पाउनेछन् । 

    गत वर्षको नाफाबाट सनराइज फर्स्ट म्युचुअल फन्डले  १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछन् । यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री खड्का

    काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

     

    बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बूढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

    ऊर्जामन्त्री खड्काले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेकाले आयोजना निर्माणबाट पछाडि हट्ने कुनै ठाउँ नरहेको उल्लेख गर्नुभयो । “बूढीगण्डकी परियोजना अगाडि बढाउन परेको समस्यालाई समाधान गर्दै अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    प्रतिनिधिसभामा दुई विधेयक पेस

    काठमाडौँ ।प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ पेस गर्नुभयो । 

     

    त्यसअघि बैठकले ती दुई विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । 

     

    उक्त विरोधको सूचनाका सम्बन्धमा वक्तव्य दिँदै अर्थमन्त्री पौडेलले धितोपत्र बजारलाई व्यवस्थित बनाउन संशोधन विधेयक प्रस्तुत गरिएको स्पष्ट पार्नुभयो । उहाँले आर्थिक कार्यविधिलाई उत्तरदायी बनाउँदै आर्थिक अनुशासन कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संशोधन गर्न लागिएको जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।

    ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूलाई तत्काल अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीहरूले दायर गरेको  रिटमाथि  सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

     

    सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश  दिएको छ ।सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित नेपाल प्रहरीका २१ जना अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।

    ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गर्नुभएको हो ।

     

    आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरुको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंक र आध्यान्तबिचको सहकार्यले उद्यमीहरुलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ । आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरुको ब्यापार व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    अख्तियारको छानबिनको दायरामा निजी क्षेत्रलाई नराख्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रलाई विस्तार गरी निजी क्षेत्रलाई समावेश गर्न नहुने भनी संसदको राज्य व्यवस्था समिति तथा सुशासन समितिमा आग्रह गरिएको छ ।निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार  छानबिनको दायरा बढाइ निजी क्षेत्रलाई समावेश गर्न गरेको मागको विरोध गरी त्यसो नगर्न समितिसँग आग्रह गरेको छ ।

     

    महासंघले संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई ध्यानाकर्षण गराउँदै अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्र राख्न नहुने बुझाएको ज्ञापन पत्रमा उल्लेख  गरेको छ । 
    राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐन, ०५९ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, ०७६ मा निजी क्षेत्रका सम्बन्धमा सरकारले गरेका व्यवस्था जस्ताको तस्तै पारित भए निजी क्षेत्र प्रत्यक्षरूवमा प्रभावित मात्र नभइ यो संविधानको उल्लंघन समेत हुने जिकिर ज्ञापन पत्रमा लिइएको छ ।

    मूला लोड गरिएको ट्रकमा करिब डेढ हजार किलो गाँजा बरामद

    काठमाडौं । प्रहरीले  धरानमा मूला लोड गरिएको ट्रकबाट करिब डेढ हजार किलो गाँजा बरामद गरेको छ ।प्रहरीले  धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ख ४७३३ ट्रकबाट  एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक ४४ बोरा  गाँजा फेला परेको हो । 

     

    गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले  जानकारी सार्वजनिक गरेको छ । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ । धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको छ ।भारत पु¥याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रतिकलो दुई हजार रुपैयाँसम्म पाउने गरेको बताइन्छ ।

    कुमारी बैंक र इसेवाबीच डिजिटल कर्जासम्बन्धी सम्झौता

    काठमाडौँ ।  कुमारी बैंक र इसेवाबीच डिजिटल कर्जासम्बन्धी सम्झौता भएको छ । इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने गरी कुमारी बैंक र इसेवाबीच यो सम्झौता  भएको हो ।

     

    कुमारी बैंकसँगको सम्झौताबाट इसेवाले आफ्ना एजेन्टलाई व्यवसाय वृद्धिका लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित दुई लाखसम्मको डिजिटल कर्जा सजिलै दिन सक्ने भएको छ ।

    पहिलो चरणमा इसेवा एजेन्टहरूका लागि  मात्र यो इजी लोन सेवा उपलब्ध गराइने भनिएपनि भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवामार्फत लिइने इजी लोन सुविधामा लागु हुने शर्तनामा  इसेवाको वोबसाइट वा एपमार्फत जानकारी प्राप्त हुने छ ।

    अमेरिकी परियोजना एमसीसी कार्यान्वयनको एक वर्षमा सीमापार १८ किलोमिटर प्रसारण लाइन र ३ सबस्टेशसन प्रसारण लाइन सम्झौता सम्पन्न

    काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतका परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) कार्यान्वयनमा आएको एक वर्ष समीक्षा गरिएको छ । परियोजना लागु गर्ने संस्था मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले हालसम्म १८ किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइन तथा ३ सबस्टेसन प्रसारण लाइनको ठेक्का सम्झौता सम्पन्न गरेको जनाएको हो ।

     

    मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले २०२३–२४ को प्रगति विवरण सार्वजनिक गरी २९७ किलोमिटर प्रसारण लाइनका लागि यो वर्ष फेरि बोलपत्र आह्वान गरिने जनाएको छ । साथै परियोजनाले  १० जिल्लामा ८५६ वटा प्रसारण टावरको जग निर्माण गर्न  जग्गा प्राप्तिको काम पनि पूरा भइसकेको छ ।प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एक वर्षमा भएका कार्य प्रगति र आगामी वर्षमा गरिने कार्यहरूको विषयमा जानकारी दिएका थिए ।

    काठमाडौँको सुन्धारा खिचापोखरी न्यूरोडमा सप्ताहीव्यापी व्यापार मेलाको आयोजन , मेला भदौ ११ गतेसम्म सञ्चालन हुने

    काठमाडौं । काठमाडौंको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रवर्द्धधन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेलाको आयोजन गरिएको छ । खिचापोखरी न्यूरोड व्यापार संघले यो मेलाको आयोजन गरेको हो ।मेलामा उपभोक्तालाई सहुलियत मूल्यमा ‘रेडिमेड’ कपडा तथा जुत्ता बिक्री गरिने संघका अध्यक्ष सागर शाक्यले जानकारी दिएका छन् ।

     

    बुधबारदेखि सुरु भएको मेला भदौ ११ गतेसम्म सञ्चालन हुने मेलामा सर्ट, पाइन्ट, टिसर्ट, रेडिमेड गार्मेन्ट र जुत्ताहरु ४० देखि ६० प्रतिशतसम्म छुटमा पाइने संघका वरिष्ठ उपाध्यक्ष भरत बडालले जनाए । कुल छ सय व्यवसायी रहेको खिचापोखरी न्यूरोड क्षेत्रमा वर्षको दुईपटक यस्ता मेला आयोजना गरिने वरिष्ठ उपाध्यक्ष बडालले बताए ।

    दाङको महेन्द्र बहुमुखी क्याम्पसमा  विष्फोटक पदार्थ फ्याँकी भागेका  दुई जना  पक्राउ

    दाङ ।  प्रहरीले दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई  पक्राउ गरेको छ ।प्रहरीले  घोराहीका अभियान थापा र सुदन कार्कीलाई पक्राउ गरेको हो ।

     

    दुवै जनाले  आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढी भागेका  थिए ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेकै  अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

    बलम्बुको शंकास्पद वस्तु खाली प्रेसर कुकर भएको फेला,तर्साउन नराखिएको आशंका

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको शंकास्पद वस्तु खाली प्रेसर कुकर रहेको पाइएको छ । नेपाली सेनाको बम डिस्पोज टोलीले सो प्रेसर कुकर खाली फेला पारेको हो ।

     

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जनाए अनुसार तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र खाली प्रेसर कुकर राखिएको पाइएको छ ।राखिएको सो प्रेसर कुकर बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ ।  ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस