काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले करिब एकघन्टा अघिसम्मको उद्धार कार्यबारे जानकारी दिँदै १४ जनाको मृत्यु भएको र १६ जना घाइते भएको बताएका हुन् ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय यात्रु वाहक यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बस नदी किनारमा अड्किएको छ । यसअघि ४० जना सवार रहेको भनिएकोमा चालक सहचालकसहित ४३ जना सवार रहेको जनाइएको छ ।