Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नयाँसडक बुलेटिन :यस्ता छन्  भदौ ७ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 414
    Shares

  • नयाँसडक बुलेटिन :यस्ता छन्  भदौ ७ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ७ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    नेपाल राष्ट्र बैंकद्वारा ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न ५ रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको जनाएको छ । 

     

    राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको बताएको हो ।

    यी कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप - विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।

    आर्थिक वर्षको पहिलो महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नै वैदेशिक व्यापारको सूचक सन्तोषजनक देखिएका छैनन् । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको  तथ्यांक अनुसार साउनमा आयात–निर्यात दुवै घटेको छ भने व्यापार घाटा बढेको छ । 

     

    साउनमा आयात सामान्य घटेपनि निर्यात उच्चदरले घट्दा व्यापार घाटा बढ्न गएको हो । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात र १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यस अवधिमा आयात ०.६७ प्रतिशत तथा निर्यात ९।६३ प्रतिशतले घटेको हो ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा आयात १ खर्ब २९ अर्ब २३ करोड बढीको थियो भने निर्यात १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको भएको थियो ।

    निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले गर्दैन -अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् । 

     

    नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका हुन् ।
    सरकारले सरकार, निजी क्षेत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उनले बताए । उनले वर्तमान सरकार संसदको अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको जिकिर गरे । ​

    विभिन्न नीतिगत विषयमा निजी क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको उनले बताए । पौडेलले पूँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताए ।

    आरती पावर कम्पनीले ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने

    काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरको ३६ लाख कित्ता आइपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

     

    सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । भाद्र ०६ गते बिहिबारका दिन एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।

    एडीबीले नेपाललाई थप सहयोग गर्ने

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको बिहीबार भेटमा एडीबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन । 

    सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फतएडीबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ । अर्थमन्त्री पौडेलले एडीबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । 

    एडीबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरेका थिए।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ लाख ९९ हजार ६८० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहृमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

     

    कुल कित्ता शेयरमध्ये सन्राईज होल्डीङ्स प्रालिको १ लाख ३८ हजार ७०० कित्ता, विराट कुमार श्रेष्ठको ५० हजार कित्ता र शान्ती प्रधान श्रेष्ठको १० हजार ९८० कित्ता रहेको जानकारी कम्पनीले दिएको छ ।

    सुनको मूल्य प्रतितोला ५०० सयले घट्यो, प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 
    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९३.२६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२९ डलरमा कारोबार भइरहेको छ ।

    \

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा १ लाख ५८ हजार ६६४ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ ७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

    हिमालय ऊर्जा विकासको शतप्रतिशत हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिने सकिने

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । यस कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

     उक्त हकप्रद सेयरका लागि असार १९ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । यसमा आवेदन दिने अन्तिम म्याद भदौ १२ गते बुधबारसम्म रहेको छ । 

    यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । 

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

     

    युरो एकको खरिद दर भने १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

    राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको छ।

    पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने लक्ष्यका साथ यही भदौ २७ र २८ गते ‘पूर्वाधार सम्मेलन’ हुने

    काठमाडौँ ।पूर्वाधार क्षेत्रमा लगानीकोे विविधता खोज्ने तथा औद्योगिक वातावरण तयार खोज्ने उद्देश्यका साथ यही भदौ २७ र २८ गते पाँचौ पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ ।

     

    पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवद्र्धन, रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसङ्घको आयोजनामा उक्त सम्मेलन आयोजना हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

     

    परिसङ्घ मुख्य आयोजक रहने उक्त सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय रहेको छ ।  समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना हुने सम्मेलनको मुख्य नारा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ रहेको छ ।

    तनहुँ दुर्घटना : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइयो

    काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।

     

    घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा ४३ यात्रु सवार थिए ।

    युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

     

    परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गर्नुभएको थियो ।

     

    मन्त्री डा राणाले भन्नुभयो, “सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ । कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने क्रममा नेपाललाई आर्थिक रूपमा सबल र दिगो, सामाजिक रूपमा समावेशी बनाउन युनएनडिपीको भूमिका अझ बढी महत्वपूर्ण रहेको छ ।”

    मन्त्रिपरिषद् निर्णय सार्वजनिक, द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

    काठमाडौँ । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । 

     

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । 

     

    बैठकले ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरु पालना गर्नेगरी हटाउने निर्णय पनि सरकारले गरेको छ । तोकिएका शर्त पूरा भएपछि सरकारको यो निर्णय कार्यान्वयनमा जाने पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

    बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छुः अध्यक्ष दाहाल

     

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
     
            केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो । उहाँले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
     
            भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    भारतस्थित केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

    नयाँ दिल्ली । भारतको उत्तरखण्ड राज्यस्थित हिन्दुहरूको तीर्थस्थल  केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने चारै जना नेपाली नागरिक भएको बताइएको छ ।

     

    तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा उनीहरूको पहिचान गरिएको छ । ‘बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने ताल खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी सार्वजनिक गरेका छन् ।

    कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

     

    कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

    विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस