Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

‘डिजिटल’ प्रविधिमा अपाङ्गता भएका युवाको पहुँच बढाउनुपर्नेमा जोड


नया सडक

२०८१, भदौ ८ शनिबार

  • 330
    Shares

  • ‘डिजिटल’ प्रविधिमा अपाङ्गता भएका युवाको पहुँच बढाउनुपर्नेमा जोड

    काठमाडौँ ।अपाङ्गता भएका युवाहरूको ‘डिजिटल’ प्रविधिमा पहुँच बढाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । नेत्रहीन युवा सङ्घ, नेपालले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लागि डिजिटल प्रविधि र पहुँचमा सुदृढीकरणः अपाङ्गता भएका युवाहरूको सशक्तीकरण’ विषय संवाद कार्यक्रममा वक्ताहरूले सूचना प्रविधिबाट अधिकतम लाभ लिने गरी अपाङ्गता भएका युवाहरूको पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्य कलाधर भण्डारीले मुलुकमा डिजिटल प्रविधिको तीब्रत्तर विकास भए पनि अपाङ्गता भएका व्यक्तिको पहुँच अझै नपुगेको बताउनुभयो ।  यस्ता व्यक्तिको डिजिटल प्लेटफर्ममा पहुँच  बढाउनका लागि सम्बन्धित सरोकार भएका निकायको ध्यानाकर्षण गर्दै सचेतना जगाउन र भावी कार्य–दिशा पहिल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सबिता दङ्गालले बालबालिकालाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुहुँदै पुस्तकहरू ‘ब्रेल’ लिपि, डिजिटल र अडियोमा तयार गर्नुका साथै टेलिभिजन कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो । 

    राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य शिक्षा अधिकृत शिला श्रेष्ठले यौनिक तथा प्रजनन स्वास्थ्य, नसर्ने रोगहरूलगायत सबै किसिमका स्वास्थ्यसम्बन्धी सूचना तथा सञ्चार सामग्रीहरू पहुँचयुक्त ढाँचामा तयार पारी प्रसारण गरिएको जानकारी गराउनुभयो ।  उहाँले पछिल्ला वर्षमा साङ्केतिक भाषामा भिडियो सामग्री बनाउन थालिएको र अन्य सामग्रीलाई पनि क्रमैसँग अपाङ्गतामैत्री बनाउन थालिएको बताउनुभयो । यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समन्वय शाखा प्रमुख नीरा अधिकारीले अपाङ्गतामैत्री डिजिटल प्रविधिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहुँच अभिवृद्धिका लागि धेरैले कुरा गरे पनि बजेट, कार्यक्रम तथा व्यवहारमा प्राथमिकतामा राख्न नसकेको धारणा राख्नुभयो । 

    लैङ्गिक समानताविज्ञ समीरराज घिमिरेले अपाङ्गता समावेशीकरणका लागि प्रगतिशील कानुन बनाइए पनि  समावेशीकरणको व्यवहारिक कार्यान्वयन र पहुँचयुक्तताको सवालमा अपेक्षा गरेअनुसार काम हुन नसकेको बताउनुभयो । 

    नेत्रहीन युवा सङ्घ नेपालका कार्यक्रम अधिकृत निर श्रेष्ठले कानुन बनाएर अपाङ्गता भएका व्यक्तिको डिजिटल प्रविधिमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस