Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात


नया सडक

२०८१, भदौ ११ मंगलबार

  • 249
    Shares

  • साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात

    काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

     
    नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।
     
    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।
     
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८(९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरुमा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण वत्ति जाने आउने गरेतापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था नरहेको उल्लेख गरे ।  
     
    कार्यकारी निर्देशक घिसिङले भने,‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरु अभियानकै रुपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ ।’
     
    घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमासमेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गरे ।
     
    ‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परेतापनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’ उनले भने ।
     
    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स०को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लिलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
     
    प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।  यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५।८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरुबाट उत्पादित १०९।६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
     
    १० जलविद्युत आयोजनाबाट उत्पदित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने छ ।

    प्रतिक्रिया दिनुहोस