Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज ७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, असोज ७ सोमबार

  • 114
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज ७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ७ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

    ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

    काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

     

    उहाँले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभयो । नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ  । उक्त सबस्टेसनबाट बर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ ।

    निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताउनुभयो ।

    एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४.२१ प्रतिशत लाभांश घोषणा

    काठमाडौ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज मिति २०८१ साल आश्विन ०७ गते सोमबार बसेको ४६३औं सञ्चालक समितिको बैठकले शेयरधनी महानुभावहरुलाई आर्थिक वर्ष २०८०(८१को मुनाफाबाट ४।२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ५९.०२ अंकले घटेर  २५२९.३३ बिन्दुमा, ५ अर्ब ६६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा आएको छ । अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । 

     

    यस दिन ३२९ कम्पनीको १ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा मान्यता प्रदान गर्ने गरिएको छैनः नेप्से

    काठमाडौं । धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको बताएको छ ।

     

    नेप्सेले सोमवार सामाजिक सञ्जालमार्फत् फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सक्ने पनि बताएको छ ।

    हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने ,  विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

     

    कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त साधारण शेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

    दिपेन्द्र अग्रवाल १६ करोड लिएर फरार, सिप्ला सेक्युरिटिजद्वारा सबै व्यवसायीलाई दिपेन्द्र अग्रवालसँग कारोबार नगर्न आग्रह

     

    काठमाडौँ । दिपेन्द्र अग्रवालले १६ करोड लिएर फरार भएका छन् ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त  सिप्ला  सेक्युरिटिजले यस्तो जनाएको हो । सिप्ला   सेक्युरिटिजले सबै धितोपत्र दलाल व्यवसायीहरूको नाममा जारी गरेको पत्रमा भनिए अनुसार दिपेन्द्र अग्रवालबीच लामो समयदेखि चलिआएको हिसाब मिलान सम्बन्धी मतभेद बारेमा केन्द्रीय अनुसन्धान ब्युरोले(सीआईबी) मध्यस्थता गरेर हिसाब मिलान गर्न पहल  गरेको हो ।

     

    पत्रमा भनिएको छ ‘ सोही विषयमा निज दिपेन्द्र अग्रवालसँग यस प्रा.लि ले खाताहरु मिलान गरेर हिसाब फरफारक गर्नका लागि मिति २०८१–०६–०४ को दिन दिउँसो करिब २ बजे टोखा स्थित ग्लोबल आई एम ई बैंकको शाखा कार्यालयमा यस प्रा.लि का प्रतिनिधिहरुले सोही बैंकको खाता नं ०७५०१०१००००७३२ का रु एक करोडका जम्मा १६ वटा चेक गरी जम्मा रकम रु १६ करोडका चेकहरु लिई गएका थिए।

    ट्रेजरी बिलमार्फत २५ अर्ब आन्तरिक ऋण उठाइँदै

    काठमाडौं ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । चालु आर्थिक वर्ष सुरु भए यता सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोल मार्फत २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

     

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । बोलकबोलमा आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

    इन्फिनिटी लघुवित्तको ६७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३० हजार कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी ३७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
    विद्यमान संस्थापक शेयरधनीहरूले भने आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

    ग्रीन डेभलपमेन्ट बैंकको सेयर स्वामित्व परिमार्जन

    काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंकको सेयर स्वामित्व परिमार्जन भएको छ । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । संस्थापक समूह तर्फ २६ लाख ४६ हजार ९०० र सर्वसाधारण तर्फ २५ लाख ४३ हजार १०० कित्ता सेयर रहेको छ ।

    शिवम् होल्डिङ्सको २.५० प्रतिशत नगद लाभांश घोषणा , आइपीओ जारी गर्ने तयारी

    काठमाडौं । शिवम् होल्डिङ्स  लिमिटेडले २.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले हाल कामय चुक्ता पुँजी ४ अर्ब ६४ करोडबाट २.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले लाभांश प्रस्तावसहित असोज ३० गते साधारण सभा बोलाएको छ । 

    सभा कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनलको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबारबाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

    सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको साधारण सभा असोज २३ गते , बुक क्लोज असोज ११ गते

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको असोज २३ गते साधारण सभा बस्ने भएको छ । सभा, आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

    बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज असोज ७ गते सोमबारदेखि १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    आवेदन दिने अन्तिम म्याद असोज १४ गतेसम्म रहेको छ ।

    आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज ७ गते अन्तिम दिन हो । बैंकले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंगलबार असोज ८ गते बुक क्लोज गर्दैछ ।  आाज सोमबार असोज ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    उक्त लाभांश पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

    यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा पुगेको छ ।

     

    युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा पुगेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

    काठमाडौँ ।वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

     

    अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज  सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । 
    आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको छ ।
    आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

    काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । 

     

    इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग आज प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

     

    कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । “यो प्रक्रिया अघि बढाउन ढिला भएको छ”, उहाँले  भन्नुभयो, “तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।”

    रामायणसम्बन्धी गार्गी सेठको एकल कला प्रदर्शनीको मन्त्री पाण्डे र राजदूत श्रीवास्तवद्वारा उद्घाटन

    काठमाडौँ । रामायणको साझा सम्पदाको गार्गी सेठको एकल कला पदर्शर्नीको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र पर्यटन मन्त्री बद्री पाण्डेले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजना गरिएको यो प्रदर्शनी सीता भवनमा गरिएको छ । यसलाई रामायण रिजोनेन्स सेलिब्रेटिङ सेयर्ड हेरिटेज नाम दिइएको छ ।

    भन्सार छुटको चिनी दशैँ अघि आउन नसकेपछि  दशैँमा चिनीको अभाव र मूल्य वृद्धि हुने सम्भावना

    काठमाडौँ । दशैँमा चिनीको अभाव हुने सम्भावना बढेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउनुपर्ने भन्सार छुटको चिनी नआएपछि चिनीको अभाव हुने सम्भावना बढेको हो ।सरकारले चाडपर्वका लागि भन्सार छुटमा ल्याउन  अनुमति दिएको चिनी दशैँअघि नआउने पक्का भएजस्तो चिनीको अभाव हुने अडकल काटिएको छ ।

     

     भदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १५÷१५ हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको थियो ।त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्ने अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको भएपनि हालसम्म परराष्ट्र मन्त्रालयले त्यसका लागि स्वीकृति नदिएको हो ।सरकारले सरकारबाट अर्थात जी टूजी विधिबाट  खरिद गर्न परराष्ट्रको स्वीकृति आवश्यक भएकोले दशैँ अघि त्यो चिनी आउन नसक्ने देखिएको  ।

    पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा बढी लाखौँको मसला लोड गरिएको ट्रक नियन्त्रणमा

    काठमाडौँ । पर्सा प्रहरीले बिजबीजक भन्दा बढी लाखौँको मसला लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको एक प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडान १४ गण्डक चौकबाट ना ३ ख ८०४२ नम्बरको  मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

     

    जिल्ला प्रहरी पर्साले जारी गरेको विज्ञप्ति अनुसार प्रहरीले असोज ७ गते ००ः३० बजे आन्दाजी ३३ लाख ७७ हजार ९ सय ४० बराबरको बिलबीजक भन्दा बढी मसलालगायतका मालवस्तुसहितको ट्रक नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिइएको मालवस्तुसहितको सो ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

    साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

    काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समावेशी समृद्धि: एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गर्नुभयो । नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

     

    साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी सँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो ।

    धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिव ३ बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

     

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता अरञ्जन अवाले हिरासतबाट ८ जना फरार भएको पुष्टि गरे। सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिए।

    आज ९सोमवार० बिहान करिव सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना फरार भएका हुन् । फरार मध्येहरुमा ५ जना लागुऔषध मुद्दाका अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।

    आजमो मौसम : केही पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

     

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस