Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन:यस्ता छन् भदौ ११ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, भदौ ११ मंगलबार

  • 417
    Shares

  • नयाँसडक बुलेटिन:यस्ता छन् भदौ ११ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ११ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मत स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

     

    प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    अर्थमन्त्री पौडेलले उक्त ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै आजसम्मको अभ्यासका क्रममा शेयर मार्केटको सन्दर्भमा प्रशस्त अनुभव आर्जन गरेको बताउनुभयो ।

    “खासगरी बजार विस्तार हुँदैछ, विस्तारित बजारलाई स्थिर ढङ्गले बढाउनुपर्ने, प्रभावकारी नियमनको प्रबन्ध, शेयरबजारका सम्बन्धमा नयाँ अभ्यासलाई हाम्रो परिपेक्ष्यअनुसार लागू गर्न यो विधेयक जरुरी छ”, मन्त्री पौडेलले भन्नुभयो, “यो धितोपत्र संशोधन विधेयक प्रस्तुत भएको हो, बजारमा अराजकता, अन्ुशासनहीनताको क्रियाकलाप हुन नदिन र लगानीकर्ताहरूलाई पीडित हुन नदिनका लागि प्रभावकारी नियमनको प्रबन्ध गरिएको छ ।”

    ‘एलडिसी’ स्तरोन्नतिपछिका प्रभाव, असर र चुनौती सम्बोधन गर्न प्रबन्ध गरिनेछ : मन्त्री भण्डारी

    काठमाडौँ । सरकारले मुलुक सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि अर्थतन्त्र र व्यापार क्षेत्रमा पर्नसक्ने सम्भावित चुनौतीलाई सम्बोधन गर्न यथोचित प्रबन्ध गरिने स्पष्ट पारेको छ । राष्ट्रियसभा, विकास तथा आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा ‘विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपाललाई पर्ने प्रभाव, असर र चुनौती’ का बारेमा सरकारको धारणा राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकासशील राष्ट्रमा सूचीमा अग्रसर हुन सरकारले सबै खालको प्रयत्न गर्ने बताउनुभयो ।

     

    “विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा कतिपय सहुलियत कटौती हुँदा नेपालको उत्पादन, अर्थतन्त्र र उद्योग क्षेत्रमा पर्न सक्ने दबाब थेग्न मन्त्रालयले तयारी गरिरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यस सम्बन्धमा सरकार संवेदनशील छ, चुनौती सामना गर्न यथोचित प्रबन्ध गरिनेछ ।” उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने योजना अघि बढाइएको जानकारी दिँदै उहाँले कृषि उत्पादन र कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाइने बताउनुभयो ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न  धितोपत्र बोर्डबाट पायो स्वीकृति

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

     

    कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    स्वीकृति पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

    शेयर बजार : नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा, १८ अर्ब ६४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आएको छ । यस दिन १८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

     

    यस दिन ३३० कम्पनीको ४ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ४२ लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

    गाउँघर उज्यालो साना हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि आगामी असोज ३ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । 

     

    कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको बालकुमारीस्थित केएफसीमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।सभामा शेयरको सार्वजनिक निष्कासन गर्ने र सोबाट प्राप्त हुने पूँजीको उपयोग गर्ने, पूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

     

    मैलुङ्ग खोला र सिइडिबी हाइड्रोपावरको १० भन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८ दशमलव २४ कित्ता गरी कुल १० लाख ५ हजार ११९ दशमलव २४  कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
    मैलुङ्ग खोला जलविद्युत कम्पनीले गत वर्ष २०८० चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव २२११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशलमव ११६९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    कुमारी सुनौलो योजनाको प्रतिफल घोषणा

    काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
    योजनाले कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। भदौ १० गते बसेको योजनाको योजना व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    आज एसियन लाइफ इन्सुरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनीको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसा आवेदन दिन सकिनेछ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको लाभांश घोषणा

    काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ । क्यापिटलको सोमबार  बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश (प्रतिफल)वितरण गर्ने निर्णय गरेको हो ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।आज  मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५५ पैसा कायम भएको छ । 
    खरिददर १३३ रुपैयाँ ९५ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा खरिद दर १७६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    आज कति हो त सुनचाँदीको मूल्य ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ३०० रुपैयाँ कायम छ ।
    मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५०७ र चाँदी प्रतिऔंस २९.८८ डलरमा कारोबार भइरहेको छ ।

    कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

     

    सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिनुभएको हो । 

    उहाँले रु १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन केके गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गर्नुभयो ।

    ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशलः नेपाली दूतावास

    काठमाडौँ ।ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । 

     

    दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । 

    दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ । सङ्गठित रुपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ । कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।

    पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु / अध्यक्ष नेपालबाट मतदान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को  पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु भएको छ ।

     

    पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्य पूरा गरेपछि मतदान साँझ ६ बजेदेखि सुरु भएको हो ।पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

    ‘एलडिसी’ स्तरोन्नतिपछिका प्रभाव, असर र चुनौती सम्बोधन गर्न प्रबन्ध गरिनेछ : मन्त्री भण्डारी

    काठमाडौँ । सरकारले मुलुक सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि अर्थतन्त्र र व्यापार क्षेत्रमा पर्नसक्ने सम्भावित चुनौतीलाई सम्बोधन गर्न यथोचित प्रबन्ध गरिने स्पष्ट पारेको छ । राष्ट्रियसभा, विकास तथा आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा ‘विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपाललाई पर्ने प्रभाव, असर र चुनौती’ का बारेमा सरकारको धारणा राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकासशील राष्ट्रमा सूचीमा अग्रसर हुन सरकारले सबै खालको प्रयत्न गर्ने बताउनुभयो ।

     

    “विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा कतिपय सहुलियत कटौती हुँदा नेपालको उत्पादन, अर्थतन्त्र र उद्योग क्षेत्रमा पर्न सक्ने दबाब थेग्न मन्त्रालयले तयारी गरिरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यस सम्बन्धमा सरकार संवेदनशील छ, चुनौती सामना गर्न यथोचित प्रबन्ध गरिनेछ ।” उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने योजना अघि बढाइएको जानकारी दिँदै उहाँले कृषि उत्पादन र कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाइने बताउनुभयो ।

    परराष्ट्रमन्त्री डा राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

    काठमाडौँ ।  रराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायत अधिकारी र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

    प्रहरी जस्तो सशस्त्र प्रहरीका लागि ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश भएन

    काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा  अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले विपक्षीहरुसँग लिखित जवाफ मात्र माग गर्ने आदेश दिएको हो ।

     

    गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसमेत  १२ जनाले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागु नगर्न सर्वोच्च अदालतमा  अन्तरिम आदेश माग गरी रिट दर्ता गरेका थिए । माग बमोजिम अन्तरिम आदेश नदिई इजलासले कारण देखाउ आदेश मात्र दिएको हो ।

    साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात

    काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

     

     
    नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।
     
    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।

    अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

    क्यानबेरा । अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।  

     

     घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार  व्यावसायिक शिक्षा र प्रशिक्षण ९भिईटी० क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

    शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन्  २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाउनु भएको छ
     ।
     
    उहाँले निर्धारित सीमाहरू, संसदले पारित गर्ने  बताउदै अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सन् २०१९  को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिनु भएको छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा प्रधानमन्त्री ओलीलाई डेडिकेटेड र ट्रंक लाइनको सुविधा दिएबापत २२ अर्ब रुपैया बक्यौता उठाउने निर्णय मन्त्रिपरिषदबाट गराउन चुनौती

    काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा  प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा दिएबापत उठाउन बाँकी करिब २२ अर्ब रुपैयाँ बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाट गर्न चुनौती दिएका छन्।
    अध्यक्ष प्रचण्डले मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालबाट प्रष्टीकरण दिनेभन्दा मन्त्रिपरिषद्बाट बक्यौता उठाउने निर्णय गरेर देखाउन चुनौती दिएका हुन्।
    पूर्वप्रधानमन्त्री प्रचण्डले ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड महसुल उठाइएन भनेर फेसबुकबाटै सोध्नुभएको छ। नियत सही भए प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न। खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति प्रधानमन्त्री ओली आफैं हो । नेपाल विद्युत प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’

     

    ओलीको हस्तक्षेपकै कारण प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नसकेको बताउँदै प्रचण्डले  २०७५ वैशाख ३१ मा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् लिइ महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न सुरु भएको बताए ।
    त्यतिबेला ओलीले नै हस्तक्षेप गरेर महसुल उठाउन नदिएको आरोप प्रचण्डले लगाए।

    अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित दुईजनालाई पक्राउ

    काठमाडौँ । प्रहरील  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सुन सहित दुईजनालाई पक्राउ गरेको छ।प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुईजनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

     

    अवैध रूपमा संकलन गरी लैजान लागेको सुन करिब ८१ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले  नवलपरासी बर्दघाट नगरपालिका–४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका–३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुँवरलाई पक्राउ गरेको हो ।

    हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौँ  आएका प्रशान्तसँग सन्तोषले अवैध रूपमा संकलन गरि लैजान लागेको सुनसहित दुवैलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो

    बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व सङ्कलन भएको छ ।

     

    बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०÷८१ मा लक्ष्यभन्दा रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व सङ्कलन भएको हो । प्रदेश सरकारले आव २०८०÷८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु। ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट रु ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।

    नाडा अटो शो शुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

    काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले सबै क्षेत्रमा स्थिरता कायम गर्न काम गरिरहेको बताएका छन् ।नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रमुख अतिथिको रूपमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

     

    मन्त्री पौडेलले विभिन्न कार्यक्रममा आफूलाई बोलाइदिँदा काम गर्न बाधा पुगिरहेको बताउँदै काम गरौँ कि भाषण भनी सवाल नाडाको उद्घाटन सत्रमा भने ।मन्त्री पौडेलले यो स्थिर सरकार सबै नेपालीको भएको बताउँदै  अटो व्यवसायीका समस्या पनि समाधान गर्ने बताए ।

    आजको मौसम : कोशी, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

     

    हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भईरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस