Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ १२ बुधबार

  • 312
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १२ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    अर्थ मन्त्रालय र बेलायत सरकारबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ ।अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि गर्न ‘सामर्थ’ कार्यक्रममा समझदारी भएको हो । 

     

    अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन स्टर्लिङ पाउण्ड र सामर्थ कार्यक्रमका लागि ३८ दशमलव आठ मिलियन स्टर्लिङ पाउण्ड बेलायत सरकारबाट वित्तीय अनुदान सहयोग उपलब्ध गराउने गरी सहमति भएको छ । नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायत सरकारका तर्फबाट बेलायती राजदूतावास काठमाडौँका विकास निर्देशक तथा उपराजदूत पिप्पा बर्डले हस्ताक्षर गर्नुभएको हो ।

    अल्फा क्यापिटलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढााउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

    उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । 

    यसैक्रममा, अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, अल्फा क्यापिटलले आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रा लागि खुशीको कुरा हो । ’

    शेयर बजार : नेप्से परिसूचक ३.८०  अंकले बढेर २७८६.४० बिन्दुमा, १३ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक ३.८०  अंकले बढेर २७८६.४० बिन्दुमा आएको छ ।  यस दिन १३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक सकारात्मक देखिएका छन् । 

     

    यस दिन ३२६ कम्पनीको ३ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकः चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने निर्णय

    काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ। 

     

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले राजस्व संकलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्य सम्पादन मूल्यांकनको महत्वपूर्ण आधार बनाउने निर्णय गरेको छ । 

    त्यसैगरी बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ । राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दुःख नपुग्नेतर्फ सजग रहने तर गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको छ । 

    निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

    काठमाडौँ ।  जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु रु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ । 

     

    अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लािग जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गर्नुभयो । सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

    राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने , बोलकबोल आजै हुने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । 

     

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुनेछ । 

    भदौ ८ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थहरुद्वारा संकलित कूल निक्षेपको आकार ६४ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । तर, यसै अवधिमा जम्मा ५१ खर्ब ७९ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्ब रुपैयाँ माथि तरलता रहेको छ । 

    सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

    काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८४ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । 

    विकास ऋणपत्र २०८४ को भदौ १२ गते बुधबार विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ १३ गते विहीबार निष्कासन हुने जनाइएको छ ।

    यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । सम्पदा लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा सम्पदाका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर-१ डुम्रे, तनहुँमा आवेदन दिनु पर्नेछ ।

    स्टार माइक्रो इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

    काठमाडौं ।  स्टार माइक्रो इन्सुरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयरा जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो । 

    उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।यस  सम्झौतापत्रमा स्टार माइक्रो इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र एनआइएमबि एसको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

    आज हिमालय ऊर्जाको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन हो । बुधबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङले जानकारी गराएको छ । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

     

    यस कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।यसमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ५३ हजार १०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८००  रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ ।
    मंगलबार  छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।  पछिल्लो समय मध्येपूर्वमा चलेको द्वन्द्व, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुनको माग बढिरहेको अनुमान गरीएको छ । 

     


    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ रहेको थियो ।

    जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व हो : मन्त्री यादव

    काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

     

    खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जीवनका लागि  नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”

    माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    वन उपभोक्ता समितिका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रही काबेली करिडोर विस्तारका क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी रुख कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएको, लेखापरीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफुखुसी कारोबार गरेको पाइएपछि आयोगले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो ।

    अध्यक्ष कार्कीले उपभोक्ता समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायतका कागजात आफँैले लिई समूहको रु ३० लाख ७८ हजार छ सय बराबरको कार्ययोजना प्रक्रिया नपु¥याइ स्वीकृत गरेको आरोप छ । कटान आदेशभन्दा बढी रु आठ लाख ५५ हजार पाँच सय चारको वन विनास गरी अवैध घाटगद्दी गरेको पाइएको आयोगको ठहर छ ।

    साफ यु–२० च्याम्पियनपशिप फुटबलको उपाधि बङ्गलादेशलाई

    काठमाडौँ ।बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । 

     

    ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा  बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनशिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो ।

    नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको छ । 

     

    नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

    थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु

    बैङ्कक ।थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन् । 

     

    बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा यो घटना भएको हो । अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको थाइ प्रशासनले जनाएको छ ।

    अस्पतालमा बुधबार बिहान छ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैङ्कक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । 

    मदिरा पिएर बिरामी हुनेमध्येका एक आफन्तले सार्वजनिक प्रसारणकर्ता थाईपीबीएसलाई बताउनुभयो, “मदिरा पिएपछि मेरा बुबाले पेट गुर्रिएको र बताउनुभएको र पछि बेहोस हुनुभएको थियो । उहाँलाई आईसीयूमा राखी उपचार गरेपछि अहिले होसमा हुनुहुन्छ ।”

    शिक्षा दिवसका लागि तय गरिएको नारा ‘ज्ञान ,विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’

    काठमाडौँ । सरकारले यो वर्षको  शिक्षा दिवसका लागि मुल नारा तय  गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ लगायतका शब्दहरू जोडी नारा तय गरिएको जनाएको हो ।

     

    मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले  जानकारी सार्वजनिक गरेका छन् ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत वर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन थालिएको छ । दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो ।ती  शब्दहरुका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाइएको छ ।

    प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरी गौरापर्व बिथोल्नेहरू मध्ये दुई जना पक्राउ , अन्य हुल्याहाहरूको खोजी

    काठमाडौँ । प्रहरीले  प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौँको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।गत सोमबार टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

     


    जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायतको उपस्थितिमा आयोजना गरिएको गौरा पर्व कार्यक्रमलाई बिथोल्न खोजेको आरोपमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

    बेलायतमा बद्री केसीविरुद्ध प्रदर्शन

    काठमाडौँ । हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ । उनी भ्रष्टाचारमा लिप्त भएको र संघमा समेत विभाजन ल्याएको भन्दै अभियन्ताहरुले विरोध गरेका हुन् । 

     

    यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ । अल्डरसटमा एउटा  समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर समर्थक एक दर्जन युवाहरुले  केसी र खनालविरुद्दसमेत  नाराबाजी गरेका हुन् ।  

    बेलायतका लागि समावेशी राजदूत चाहियो, बद्री केसी आइएलओमा भ्रस्टाचार गरेको पैसा फिर्ता गर, पूर्वाग्रही उपनियोग प्रमुख रोशन खनाल राजिनामा देऊ आदि लेखिएका प्लेकार्ड बोकेर नाराबाजी भएको थियो । 

    प्रतिक्रिया दिनुहोस