Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा १४ महिनापछि जुट्यो सहमति, राष्ट्रिय ग्रिडमा बिजुली पुर्याउन सहज हुने


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 366
    Shares

  • मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा १४ महिनापछि जुट्यो सहमति, राष्ट्रिय ग्रिडमा बिजुली पुर्याउन सहज हुने

    बाह्रबिसे (सिन्धुपाल्चोक)। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधवार भएको छलफलमा सहमति जुटेको छ ।

    बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करीब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महीनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।

    २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ ओटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा १२४ जना जग्गाधनीको जग्गा पर्छ । 

    बुधवार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । 

    यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल शुरू गर्ने सहमति जुटेको छ । मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्त्वपूर्ण सहमति भएको बताए । मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महीनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    सहमतिबमोजिम तत्काल निर्माण कार्य शुरू गर्न निर्देशन दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले निर्माण कार्यको आफूले नियमित अनुगमन गर्ने बताए । सांसद बस्नेतले बिगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस