Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 279
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १३ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    शेयर बजार : नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा, १२ अर्ब २४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा आएको छ । यस दिन १२ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यस दिन ३२२ स्टकको १ लाख ४५ हजार ९२१ पटकको कारोबारमा १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

     

    आज  १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    मितेरी डेभलपमेन्ट बैंक  र ग्लोबल आइएमई लघुवित्तको २० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । बिहीवार दुई कम्पनीहरुले कुल २० हजार ९६९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार कित्ता र ग्लोबल आइएमई लघुवित्तले ६ हजार ९६९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन ।
    ग्लोबल आइएमई लघुवित्तको उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले भदौ २० गते कार्यालय समयभित्र कम्पनीको केन्द्रिय कार्यालय विजयपुर, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । मितेरी डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ १३ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ ।

    एनआइसी एसिया ब्यालेन्सड फन्ड र एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

    काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ब्यालेन्सड फन्ड र एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढेको छ । एनआइसी एसिया ब्यालेन्सड फन्डको साउन महिनामा न्याभ १ रुपैयाँ ७८ पैसाले बढेर १२ रुपैयाँ ७८ पैसा कायम भएको छ । अघिल्लो महिना यसको न्याभ ११ रुपैयाँ रहेको थियो । फन्डले साउन मसान्तसम्म ५९ करोड ५१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।यसको बैंक मौज्दातमा ९ करोड ४ लाख रुपैयाँ रहेको छ ।

    एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा २ रुपैयाँ २२ पैसाले बढेर १३ रुपैयाँ ६९ पैसा कायम भएको छ ।  यसको न्याभ ११ रुपैयाँ ४७ पैसा रहेको थियो । फन्डले साउन मसान्तसम्म ८१ करोड ८० लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

    आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

    काठमाडौँ । बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।

     

    नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५९ पैसा रहेको थियो ।

    हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ । बुधबार युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ३३ पैसा कायम भएकामा आज खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको छ ।

    सुनको भाउ आज फेरि नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ५३ हजार २०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १००  रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ ।यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ रहेको थियो ।

    तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ : शिक्षा मन्त्री

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताउनुभएको छ । आजको प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयहरूको सन्दर्भमा बोल्दै उहाँले गुणस्तरको सूचकमा धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

     

    उहाँका अनुसार नर्सिक शिक्षा, शिक्षा आयोगले सिटिइभिटी २०४५ कै कानुनमा आधारित भएर सञ्चालन भइरहेको छ । “यो कानुन एकीकृत गर्न मस्यौदा तयार भएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिने, नर्सिङ शिक्षालाई व्यवस्थित गर्ने तयारी गरिरहेका छौँ,” मन्त्री भट्टराइले भन्नुभयो, “मेडिकल शिक्षामा कोटा बढाउने विषयमा छलफल भइरहेको छ ।”

    कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन :  गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । 

     

    चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनसम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । “कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्रीवितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोगी हुनुसक्छौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्‍यो”, उहाँले भन्नुभयो ।

     

    यसपालिको चाडपर्वमा तीन–चार कुरामा परिणाम देखिनेगरी काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।  “कृतिम अभाव कुनै हालतमा पनि हुनु भएन । कृतिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन । त्यसका लागि हेर्ने निकायले हेर्नुपर्‍यो । त्यसमा गृह मन्त्रालयको पूरा सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

    ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनद्वारा तीन विधामा जनही तीन लाख राशीको पुरस्कार प्रदान

    काठमाडौँ । ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले विभिन्नतीनओटा विधामा फरक फरक क्षेत्रमा योगदान पु¥याउनु भएका व्यक्तिहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजनागर्दै फाउन्डेसनले पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको हो । 

     

    फाउन्डेसनले यस वर्ष पर्यटन पत्रकारितातर्फ कान्तिपुर दैनिकका सुरज कुँवर, लोकराज मिश्रवातावरण संरक्षण पुरस्कारबाट एन्टी पोचिङ युनिट,चितवन राष्ट्रिय निकुञ्ज कसरा र दुर्गादेवी मिश्रशिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही तीन लाख रुपियाँ र सम्मानपत्रप्रदान गरिएको थियो। 

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान समयमा पर्यटन र वातावरणको संरक्षण विश्वव्यापी मुद्धा बनेको र यसमा नेपालले सकारात्मक योगदान पुर्याएको बताउनुभयो । खासगरी विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाकै पहलमा नेपालले यस्तो सफलताप्राप्त गरेको भन्दै उहाँले त्यसमा समर्पित व्यक्तिको सम्मान हुनु असलकर्म भएको उहाँको भनाई थियो । यस किसिमको सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र वातावरण तथा पर्यटन संवद्र्धनमा लाग्नअरुलाई पनि पे्ररित गर्ने उहाँले बताउनुभयो ।

    सिटिजन्स बैंक र श्री एयरलाइन्स बीच समझदारी

    काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट रु ५०० को आकर्षक छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ ।

     

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    बन्यो सत्य निरुपण तथा मेलमिलाप कानुन, राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । पौडेलले  संघीय संसदको दुवै  सदनबाट पारित भएको विधेयकलाई  बिहीबार प्रमाणीकरण गरेका हुन् । प्रमाणीकरणसँगै अब उक्त ऐन कार्यान्वयनमा गई  ऐन अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठनको बाटो खुलेको छ ।विधेयकले द्वन्द्वकालीन घटनामा आममाफी हुँदैन भन्ने स्थापित गरेको छ । मानअधिकार उल्लंघनका घटनामा पीडितले स्वतन्त्र सहमति दिए मेलमिलाप हुनसक्छ, तर मानअधिकारको गम्भीर उल्लंघनका घटनामा मेलमिलाप हुने छैन ।

     

    गम्भीर मानवअधिकार उल्लंघनमा जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसा, बेपत्ता, निःशस्त्र व्यक्ति वा जनसमुदाय विरुद्ध लक्षित गरी वा योजनाबद्ध रूपमा सशस्त्र द्वन्द्वका पक्षबाट गरेको नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएको हत्या (आर्बिटरी किलिङ) वा व्यक्ति बेपत्ता पार्ने कार्य, अमानवीय वा क्रूर यातनालाई राखिएको छ ।

    पर्यटन बोर्ड /एसटीएलआरपीलाई तेस्रोपटक (पाटा) गोल्ड अवार्ड  थाइल्याण्डमा आयोजित कार्यक्रममा हस्तान्तरण

    काठमाडौं ।  नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ ।प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गर्नु भएको थियो ।

    ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई देशव्यापी रुपमा निलम्बन गर्ने धम्की

    ब्रासिलिया ।ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।

     

    न्यायाधिश मोरोसले मस्कले कानुन व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल एक्सलाई देशव्यापी रुपमा निलम्बन गरिने चेतावनी दिनुभएको छ । 

    सर्वोच्च अदालतको आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत एलोन मस्कलाई २४ घण्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समाह्वान जारी गरेको हो ।

    “ सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बुधबार राति व्यवसायी एवं सामाजिक सञ्जाल एक्सका प्रमुख एलोन मस्कलाई ब्राजिलमा २४ घण्टाभित्र कम्पनीको तर्फबाट नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ”, अदालतको आधिकारिक साइटमार्फत जानकारी गराइएको छ । “सन् २०२४ अगस्ट १८ मा नै सामाजिक सञ्जालमा अदालतको आधिकारिक पोस्टमार्फत एक्सको तर्फबाट नियुक्त गरिएको कानुन व्यवसायीलाई अदालतमा उपस्थित हुनका लागि समाह्वान जारी गरिएको थियो ।” 

    ‘हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन्र /छैनन् समीक्षा गरिने’

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनुभएको छ ।

     

    वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रुपमा समीक्षा गरिने बताउनुभयो । उहाँले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउँदै विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गरिने जानकारी दिनुभयो । 

     

    “छानबिन समिति बन्ने गरेका छन् । बनेका समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षामार्फत समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय निकाल्ने छौँ”, मन्त्री पाण्डेले भन्नुभयो, “यसअघिका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन सोबारे अध्ययन गरी समाधानतर्फ केन्द्रित हुनेछौँ ।”

    मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा १४ महिनापछि जुट्यो सहमति, राष्ट्रिय ग्रिडमा बिजुली पुर्याउन सहज हुने

    बाह्रबिसे (सिन्धुपाल्चोक)। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

     

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधवार भएको छलफलमा सहमति जुटेको छ ।

    बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करीब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महीनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।

    बाँकेमा बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

    नेपालगञ्ज । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । 

     

    दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उहाँले बताउनुभयो ।

    जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने

    काठमाडौँ। जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदानप्रदान पत्रमा हस्ताक्षर गर्नुभयो ।

     

    उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा दुई वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा तीन वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि उपलब्ध हुँदै आएको उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसअघि एक सय ६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन्भने नयाँ सम्झौताअन्तर्गत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । हस्ताक्षर समारोहमा अर्थमन्त्रालयका सचिव डा घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    जहिले पनि जित्छौँ भन्ने मनोबलका साथ लाग्नुस् : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्नुभएको छ । 

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री  ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गर्नुभएको हो । खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही रु एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो । 

    गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल रु ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गर्नुभएको थियो ।

    आजको मौसम :  कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

     

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     

     

    प्रतिक्रिया दिनुहोस