Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 258
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १६ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

    काठमाडौँ ।अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । 

     

    पहिलो टोली चितवनबाट पूर्वमेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ । 

     

    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी, आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ ।

     

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो । यसैगरी, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

    काठमाडौं । मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो (करिव ३ अर्ब ६७ करोड ४७ लाख) बराबरको अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा, १० अर्ब ५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा आएको छ । आज १० अर्ब ५ करोड १७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

     

    आज बजार १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा झरेको छ । ३२ कम्पनीको बजार भाउ बढेको छ भने २०९ वटाको घटेको छ । ४ वटा सेयर मूल्य यथावत नै देखिएको छ । आज कुल ३३७ स्क्रिप्टको कारोबार भएको छ । कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।

    खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने , साधारण सभा असोज ७ गते

    काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो । 

     

    भदौ ११ गते बसेको कम्पनीको सञ्चालनक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगन्ज, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ ।

    सिविआईएल सेक्यूरिटिजको साधारण सभा असोज ६ गते

    काठमाडौं । सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, ललितपुरमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । 
     
    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
     
    सिद्धार्थ बैंक लिमिटेडले ८१ हजार ५७० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८१ हजार ५७० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

     

    शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

     

    एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने ,अग्राधिकार सेयर (Preference Share) भनेको के हो ?

    काठमाडौँ ।  एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ ।  बैंकले  ३ अर्ब रुपैयाँ बराबरको ३  करोड इकाई अग्राधिकार सेयर जारी गर्न लागेको हो। उक्त  िसेयरका लागि लाभांश दर ८।५ प्रतिशत कायम गरिएको छ।  बैंकले  निकायहरु निकायहरुबाट स्वीकृति प्राप्त भएपश्चात सेयर जारी गर्नेछ।

    अग्राधिकार शेयर (Preference Share) भनेको के हो ?

    कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ ।

    सुनको मूल्य तोलामा रु छ सयले घट्यो , प्रतितोला रु एक लाख ५२ हजार नौ सय रुपैयाँ

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

     

    यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

    आज आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने  अन्तिम दिन

    काठमाडौं । आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । आइतबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने छ । आँखुखोलाले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । 

    जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयरका लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ ।असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

    अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।

     

    आज यहाँ आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताउनुभएको हो । 

     

    “आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।” उहाँले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताउनुभयो । अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उहाँको भनाइ थियो ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ १६ गते आइतबार १ डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ८९ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ २४ पैसा खरिद दर १७६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

     

    अष्ट्रेलियन डलर १ को खरिददर आज ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८० पैसा पाइन्छ ।

    डिजेल पेट्रोलको मूल्य घट्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

     

    आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ ।

     

    वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

    काठमाडौँ ।नेपाल निर्माण व्यवसायी महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ ।

     

    महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

     

    श्रमिकका लागि राज्यले एकद्वार प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासङ्घले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । महासङ्घले राज्यका विभिन्न निकायले दिने तालिमलाई समयानुकूल बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष सिंहले मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढी जनालाई रोजगारी दिइरहेको उल्लेख गर्दै स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने बताउनुभयो ।

    मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताउनुभएको छ ।

     

    ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)ले आज आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रियामा उहाँले मौद्रिक नीतिको कार्यदिशा सजकतापूर्वक लचिलो बनाइएको र नियामक व्यवस्थामा सुधार भएकाले अर्थतन्त्र विस्तारै चलायमान बन्दै गइरहेको उल्लेख गर्नुभयो । 

     

    “बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएका छन्”, डेपुटी गभर्नर मिश्रले भन्नुभयो ।  पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको उहाँको भनाइ थियो । 

     

    डेपुटी गभर्नर मिश्रले राजस्व कम भए पनि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीतिगत सम्बोधनको प्रयास गरिरहेको बताउनुभयो । उहाँले नेपालमा एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहित गर्दै थोरै मात्रै भए पनि छुट सुविधा दिन सकिए स्वदेशी उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गनुभयो ।

     

         कार्यक्रममा बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंक तथा वित्तीय क्षेत्रले विद्युतीय सवारीसाधनको प्रवद्र्धन र पर्यावरणमैत्री बनाउन सहकार्य जारी राख्ने धारणा राख्नुभयो ।

    दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

    दमौली । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । 

     

    भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस