Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 354
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २० बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    बैङ्किङ कसुरसम्बन्धी विधेयक : पीडितलाई न्याय हुने गरी कानुनी प्रबन्ध गर्न सांसदहरु सहमत

    काठमाडौँ । चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदहरुले जोड दिनुभएको छ । संसद्को अर्थ समितिको आजको बैठकमा सांसदहरुले कुनै हदम्याद नराखी पीडितले न्याय पाउनेगरी कानुनी प्रबन्ध गर्दा सहज हुने धारणा राख्नुभयो ।

     

    पछिल्ला दिनमा बैङ्किङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि लगातार छलफल भइरहेको छ । म्याद राखेर जाँदा पीडित थप पीडित हुने भएकाले तत्काल अदालत वा प्रहरीमा जान सक्नेगरी कानुनी प्रबन्ध गर्दा जायज हुने केही सांसदको मत थियो । यस्तै, केही समय मेलमिलापका लागि समय दिँदा पनि फरक नपर्ने मतसमेत बैठकमा व्यक्त भएको थियो । अदालत वा प्रहरीमा जाँदा पीडितले न्याय पाउन लामो समय लाग्ने भएकाले मेलमिलापका लागि केही समय राख्दा ठीक हुने उहाँहरुको धारणा थियो ।

    शेयर बजार : नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६  बिन्दुमा, ९ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा आएको छ । आज ९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । 

     

    यस दिन ३१६ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज एनएलली इन्सुरेन्स र गुडविल फाइनान्स पनि कारोबार रकमका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन् ।

    बुद्धभूमि नेपाल हाइड्रोपावरको ‘लक इन’ असोज २१ गते सकिंदै

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि असोज २१ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

    कम्पनीले सर्वसाधारणलाई २०७८ असोज २२ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

    आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

    काठमाडौ ।  आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

     


    भदौ २० गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २  का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन गर्ने

    काठमाडौ । कर्णाली जलश्रोत लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी असोज १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ए-वान क्याफे एन्ड ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 
    साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    यसपटक बरुण हाइड्रोपावरले लाभांश नदिने , साधारण सभा असोज १३ गते

    काठमाडौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले मर्जर प्रस्तावसहित आगामी असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा हकप्रद सेयर अनुमोदन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, कम्पनीले गाभ्नेर गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश गर्नेछ । यसले लाभांश प्रस्ताव भने गरेको छैन । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं ।  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले नगद लाभांश  सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले नगद लाभांश वितरण गर्न भदौ २३ गते बुक क्लोज गर्दैछ । भदौ २१ गते शुक्रबार र भदौ २२ गते शनिबारको दिन सेयर कारोबार नहुने भएकोले आजसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

    आज सुन–चाँदीको भाउ कति छ  ?

    काठमाडौं ।  आज बिहीबार पनि सुनको भाउ स्थिर रहेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९५ र चाँदी प्रतिऔंस २३.४ डलरमा कारोबार भइरहेको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ०.७४ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको  छ । यससँगै सूचक २७४०.२१ अंकमा आएको छ । २५ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४ हजार ५६७ कित्ता सेयर कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ ।
     
    स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६१ र बिक्रीदर एक सय तीन रुपैयाँ ७ पैसा कायम भएको छ ।

    अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

     

    अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो । “विद्युत् उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिङ्गो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुनेगरी स–साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

     

    ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

    भन्सार भएर आउने सुनको आयात यो साउन करिब आधाले घट्यो, यो साउनमा १ किलो ९५ ग्राम

    काठमाडौं । भन्सार भएर आउने सुन यो साउनमा करिब आधाले घटेको छ ।गत आवको पहिलो महिना साउनको तुलनामा चालु आवको पहिलो महिना साउनमा भन्सारबाट आउने सुनको आयात तौल करिब सय किलोले घटेको हो । गत आव २०८०÷८१मा यूएईबाट  २ लाख ग्राम अर्थात २सय किलो सुन आयात भएको थियो ।

     

    त्यतिखेर सुनको आयात मूल्य प्रतिग्राम ८ हजार २सय ६८ रुपैया ८३ पैसा बढी र आयात राजस्व प्रतिग्राम १ हजार २सय ४० रुपैया ३३पैसा बढी रहेको भन्सार विभागले प्रतिवेदन अनुसार रहेको छ । प्रतिवेदनमा कुल २ किलो सुनको आयात मूल्य १अर्ब ६५करोड ३७लाख ६७हजार र आयात राजस्व २४ करोड ८० लाख ६७ हजार रहेको छ ।

    रिफिल नहुने पकेट ग्यास लाइटर यो साउनमा एक लाख बढी आयात, गत वर्षको तुलनामा आयात मूल्य र राजस्वमा प्रति थान अढाई रुपैयाँको वृद्धि

    काठमाडौं । रिफिल नहुने पकेट ग्यास लाइटर चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत वर्षको तुलनामा एक लाख बढी थान आयात गरिएको छ । ९६१३१००० एचएसकोड अन्तर्गत रिफिल नहुने पकेट ग्यास लाइटर १ करोड १९ लाख  १० हजार थान आयात भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख भएको छ ।

     

    यो प्रतिवेदन अनुसार आयात मूल्य प्रति लाइटर  गत वर्षको तुलनामा अढाई रुपैयाँ जतिले बढी तय रहेको छ । त्यसैगरी आयात राजस्व पनि अढाई रुपैयाँले बढी रहेको छ ।चालु आर्थिक वर्षको साउन महिनामा कुल आयात गरिएको रिफिल नहुने पकेट ग्यास लाइटरको कुल आयात मूल्य ९ करोड २९लाख ६९ हजार छ भने आयात राजस्व ४ करोड ५४लाख ९४ हजार रहेको छ ।

    आयात संख्या र मूल्यबीचको सामान्य हिसाबका आधारमा चालु आवको साउनमा रिफिल नहुने पकेट ग्यास लाइटरको प्रति थान आयात मूल्य ७ रुपैया ८० पैसा बढी हुन्छ भने आयात राजस्व प्रति थान ३ रुपैया ८१ पैसा बढी हुन्छ ।

    निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य

    काठमाडौँ । निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहनुभएका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

     

    वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौं नेपालीहरु आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् कुवेतमा रहेका नेपालीहरुले अब अलजमिल एक्सचेन्जको शाखाहरु बाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

    हरितालिका (तीज): पशुपति क्षेत्रमा तयारी पूरा , बिहान ३ बजेदेखि चारवटै ढोका खोलिने

    काठमाडौ ।  हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

     

    कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । 

     

    तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसको प्रधानमन्त्रीद्वारा शुभकामना

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।

     

    “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका दृष्टिले बढी जोखिममा छन् ।”

    साउन १ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगार म्यादी जीवन बीमामा सामूहिक बीमा कोष (पुल) प्रणाली निर्देशिका जारी, यसरी हुन्छ बाँडफाँट

    काठमाडौँ । साउन १ गतेदेखि लागु हुने गरी वैदेशिक रोजगार म्यादी जीवन बीमामा  सामुहिक बीमा कोष (पुल) प्रणाली निर्देशिका जारी गरिएको छ ।नेपाल बीमा प्राधिकरणले पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको हो ।प्राधिकरणद्वारा जारी गरेको निर्देशन अनुसार पुलको व्यवस्थापन दुई पुनर्बीमक कम्पनी नेपाल पुनर्बीमा र हिमालय रिइन्स्योरेन्सले गर्नेछन् । यी दुई कम्पनीहरुले दैनिक रुपमा कारोबारको विवरण पुल व्यवस्थापकलाई पठाउनु पर्छ ।

     

    कम्पनीहरुले गरेको दाबी भुक्तानी विवरण हरेक महिना समाप्त भएको ७ दिनभित्र पुल व्यवस्थापकलाई पठाउनु पर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । सो रकम व्यवस्थापनका लागि पुल व्यवस्थापकको छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने र सो खातामा पुलमा सहभागी सबै कम्पनीहरुको वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गतको कारोबार जम्मा हुनेछ ।

    आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक , विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशत बढ्यो

    काठमाडौँ ।सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । 

     

    सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताउनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।   

    जलविद्युत्को उत्पादनको क्षमता हेरेर प्रसारण लाइनको गुरुयोजना बनाउनुपर्छ : ऊर्जामन्त्री खड्का

    काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

     

          राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’सम्बन्धी छलफलमा उहाँले भविष्यमा हुने उत्पादन क्षमतालाई हेरेर प्रसारण गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

         

    “एउटै नदीबाट कति मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसको मूल्याङ्कन गरेर प्रसारण लाइनको गुरुयोजना निर्माण गर्नुपर्छ, उत्पादन भएपछि गुरुयोजना बनाउने होइन, उत्पादन हुनुपूर्व नै गुरुयोजना बन्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

     

     
     

     

    प्रतिक्रिया दिनुहोस