Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 303
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

     

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २३ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर छुटको माग गर्दै उद्योगी व्यवसायीहरु अर्थमन्त्रीलाई भेटे

    काठमाडौँ । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।

     

    नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका प्रतिनिधि तथा गलैँचा व्यवसायीले अर्थमन्त्री समक्ष नेपाली गलैँचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताए । 

     

    नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैँचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरुले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताउनुभयो ।

    १ प्रतिशत भन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्था पुनरावलोकन गर्न चेम्बरको आग्रह

    काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सले १ प्रतिशत भन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको पुनरावलोकन गर्न ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा ध्यानाकर्षण गराएको हो ।

    मुख्यसचिव अर्याललाई बुझाईएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, ‘नेपालको बैंकिङ क्षेत्रको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको संशोधन प्रस्तावमा एक प्रतिशत भन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने निश्चयनै लगानीमा यसले प्रत्यक्ष असर गर्नेछ  र आर्थिक वृद्धिमा नै असर पुग्नेछ, । ’

    निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर

    काठमाडौँ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो । 

     

    अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्यव्यवस्था समितिमा विचाराधीन सो विधेयकले निजी क्षेत्रलाई धप धराशायी बनाउने र लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ । 

     

    चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यव्यवस्था समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ मा निजी क्षेत्रको सम्बन्धमा प्रस्तावित मस्यौदाका व्यवस्थाले निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्र भित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको छ । यसले निजी क्षेत्रको  लगानीसमेत निरुत्साहित हुनेछ ।”

    शेयर बजार : नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९०  बिन्दुमा, १० अर्ब १२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २५।४६ अंकले घटेर २७०१।९०  बिन्दुमा आएको छ । आज  १० अर्ब १२ करोड रुर्पैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज १३ मध्ये ३ वटा समूहका सूचक बढेका छन् ।
    यस दिन ३२८ कम्पनीको २ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एचआइडीसीएल संस्थापक र ग्रीन लाइफ हाइड्रोपावर परेका छन् ।

    प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको  १ करोड ८२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको कुल १ करोड ८२ लाख ६९ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

     

    नेप्सेले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको उक्त कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    प्रभु इन्स्योरेन्स कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको १ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १ खर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौँ ।  राष्ट्र बैंकले बैंकहरुमा अधिक तरलता भएपछि  आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी तीन साताको लागि एक खर्ब खिच्न लागेको हो।अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा पनि तल झरेको छ। यसले गर्दा बजारमा तरलता सन्तुलन कायम गर्न केन्द्रिय बैंकले एक खर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।

     

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसके पछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

    कालिका लघुवित्तको  संस्थापक शेयर विक्री खुला

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ३८५ कित्ता  संस्थापक शेयर विक्री खुला गरेको छ । 
    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कालिका लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा र ग्रिन लाईफ हाइड्रोपावरको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी , काठमाडौंमा लिखित निवेदन पेश गर्नुपर्नेछ ।

    टाईम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने , साधारण सभा  असोज १२ गते

    काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले असोज १२ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि विक्री प्रबन्धक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । ञ्चालक समितिको पनुर्गठन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । उल्लेखित प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । 

    सभापोखरी हाईड्रोपावरको ३ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले पूँजी बृद्धि भएपछि जगेडामा रहेको उल्लेखित कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँमा विक्री खुला गरेको हो ।

     

    भदौ २२ गते सूचना जारी गर्दै इच्छुक हाल कायम शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने जानकारी दिएको हो । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनस्थली, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

    ग्रीनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ ।  ग्रीनलाइफ हाइड्रोपावरले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको कार्यालय, कमलादी काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । 

     

    युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा,  युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ १७ र बिक्रीदर एक सय तीन रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

    तोलामा रु एक हजार दुई सयले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

     

    यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

    १६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

    काठमाडौँ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा दीपकराज जोशी हुनुहुन्थ्यो । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ ।

     

    सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आउनुभएको छ । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो ।

    ग्रेनाइट /मार्बल उद्योगी / व्यवसायी र सरकारबीच मूल्यांकनमा टसल , ग्रेनाइट लोडेड सयौँ गाडी सीमामा रोकिए, तनावमा उद्योगी व्यवसायी

    काठमाडौँ । सरकार र ग्रेनाइट /मार्बल उद्योगी व्यवसायी बीच टसल भएको छ ।मुख्यतः कच्चा पदार्थको रूपमा भित्रँदै आएको ग्रेनाइटलाई सरकारले भन्सार मूल्यांकनमा फिनिस्ट ग्रेनाइट सरह मूल्यांकन लगाएपछि सरकार र ग्रेनाइट /मार्बल उद्योगी व्यवसायीबीच टसल भएको हो ।

     

    सरकारले भन्सार मूल्यांकनमा करौँतीद्वारा अलिअलि ताछिएको वा अरू किसिमले काटिएको भन्दा कच्चा किसिमले काटेको एक ढिक्का ढुंगा, (ग्रेनाइट)लाई कच्चा पदार्थको रूपमा लिएको छ । यस्तो एक ढिक्का कच्चा पदार्थको रूपमा आएको ग्रेनाइटलाई  भन्सारले १० प्रतिशत भन्सार मूल्यांकन र १३ प्रतिशतभ्याटमा छुटाउँदै आएको छ । विगतमा भन्सार कार्यालयहरूले अर्धतयारी ग्रेनाइट  र मार्बललाई समेत कच्चा पदार्थको रूपमा छुटाउँदै आएका थिए ।

    पछिल्लो समय ग्रेनाइट मार्बलका  उद्योगी व्यवसायीहरूले भन्सार दरबन्दी , अन्तशुल्क छल्नका लागि अर्धतयारी र तयारी वस्तुहरू कच्चा पदार्थको रूपमा आयात गर्ने गरेको पाइएको बताउँदै भन्सार विभागले कडाइका साथ चारपाटे काटिएका , मिलाएर केवल चिरान मात्र नभएका  वर्गाकार अर्ध तयारी ग्रेनाइट मार्बलहरूको मूल्यांकनमा कडाइ गरिएकोे जनाएको छ ।

    चेक अनादर मुद्दामा एक महिनादेखि दुई वर्षसम्म जेल सजाय हुने प्रस्ताविक विधेयक अर्थ समितिबाट पारित

    काठमाडौँ । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलबाट सर्वसम्मत रूपमा पारित भएको हो । चेक अनादर मुद्दामा कैद सजाय गर्न नहुने भनी सार्वजनिक अभिव्यक्ति सार्वजनिक भएपछि  समितिले यस्तो निर्णय गरेको हो । विधेयक पारित भएपछि चेक अनादर कसूर ठहर भए दोषीलाई कम्तीमा एक महिना कैद हुने छ ।

    साल्ट ट्रेडिङ्ग कपेरिशन लिमिटेडद्वारा स्थापनाको ६२औँ  वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

    काठमाडौँ । साल्ट ट्रेडिङ्ग कपेरिशन लिमिटेडले स्थापनाको ६२औँ वार्षिकोत्सवको अवसरमा रक्त दान नै जीवन दान हो नाराका साथ रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

    यस कर्पोरेशनको ६२ औंँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा मृगौला रोग समाजको सहयोगार्थ आयोजना हुन लागेको रक्तदान कार्यक्रममा सरिक हुन कर्पोरेशनले आह्वान गरेको छ ।

    एक्कासि प्रधानमन्त्री ओली नजाने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले  आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नजाने भएपछि समारोह स्थगित भएको छ । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले आइतबार आयोजना हुने कार्यक्रम स्थगित भएको जानकारी सार्वजनिक गरेका हुन् ।

     

    स्थापना भएको १३ वर्षपछि गर्न लागिएको दीक्षान्त समारोहको सम्पूर्ण तयारी भइसकेको  अवस्थामा मध्यरातमा सो कार्यक्रम स्थगित भएको हो ।समारोहमा सहभागी हुन विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरू समेत जुम्लामा पुगिसकेका थिए । एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भनिएपछि कार्यक्रम स्थगित गर्नुपरेको उपकुलपति रावलले जानकारी सार्वजनिक गरे ।

    भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु

    दमौली । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । 

     

    संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको  आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ । 

    गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो । यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् ।

    खोला किनारका कुनै घर बिना मुआब्जा नभत्किने मेयर बालेनको प्रष्टीकरण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका कुनै घर मुआब्जा नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा मेयर बालेनले  नयाँ मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने स्पष्ट पारेका हुन् ।

     

    बालेनले लेखेका छन् ‘तपाईंको नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि ।’

    आज ऋषिपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । 

     

    प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव यथावत

    काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

     

    विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

     
     

     

    प्रतिक्रिया दिनुहोस