Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 96
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २४ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ ।

     

    कम्पनीको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर  सूचीकृत भएको हो ।  यो शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

    प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने

    काठमाडौं। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले उक्त कार्यका लागि शेयरको खरीद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा नियुक्त गरेको छ ।

    कम्पनीले २२ लाख ५ हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ करोड ५० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नियुक्त गरेको हो । 
    सोमवार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रुपमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    शेयर बजार : नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३  बिन्दुमा, ९ अर्ब ४३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३  बिन्दुमा आएको छ । आज ९ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सबै समूहका सूचक घटेका छ ।
    यस दिन ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् । 

    सन नेपाल लाइफद्वारा कर्मचारीलाई पुनः आरक्षित सेयर बाँडफाँट

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई पुनः आइपिओको सेयर बाँडफाँट गर्ने भएको छ। 

     

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्यालले कर्मचारीको कोटाको आइपिओ लिएको पाइएपछि फेरि बाँडफाँट गर्न लागिएको हो। धितोपत्र बोर्ड र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले सिइओ अर्यालको बदमासी खुलेको थियो।

    सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार सन् नेपाल कर्मचारीको आरक्षित सेयर बाँडफाँटमा कैफियत भएको स्वीकार भएकाले अब पुनः बाँडफाँट गर्ने प्रक्रिया अघि बढाएको जानकारी पत्र प्राप्त भएको छ। तर, सिइओ अर्यालले कर्मचारीतर्फको आरक्षित सेयरमध्ये ८० प्रतिशत आफूले लिएको पाइएको हो।

    नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले  उपदान तथा पेन्सन कोषमा रहेकोे कुल १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ७ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।

    प्रभु महालक्ष्मी लाइफको साधारण सभा असोज २३ गते , लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको आइतबार  बसेको बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो । 

    सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

     कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ०.६६ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६६ विन्दुले बढेको  छ । यससँगै सूचक २७०२.५६ अंकमा आएको छ । ३० लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७  कम्पनीको ३ हजार ४२ कित्ता सेयर कारोबार भएको छ ।

     

    ७ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ ।

    कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौँ ।कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ ।

    सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अग्राधिकार समेत दिएको छ ।  

    निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

    सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।

    सुनको मूल्य प्रतितोला एक सयले बढ्यो , प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १७ सय ५५ रुपैयाँ कायम भएको छ ।

     

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९७.९९ डलरमा र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

    लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध

    मलेखु । त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ ।

     

    धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जीप लेदोमा फसेको छ ।

     

    निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्घ हुँदा सवारीको जाम लागेको छ । काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।

     

    राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।

    पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । 

     

    पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “पक्राउ परेकी निज चुँडालले एकजनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामनाबाट पक्राउ गरिएको हो ।”

    दश महिनादेखि आफ्ना मागको सुनुवाइ नभएको कवाडी व्यवसायीको गुनासो

    काठमाडौं ।  काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौँ महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् । 

     

    विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गरिए पनि १० महिनादेखि महानगरले आफ्ना मागको सुनुवाइ नगरेको कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताले गुनासो गर्नुभयो । वर्षांैदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका कवाड व्यवसायीलाई पलायन हुनेगरी महानगरले व्यवसाय सञ्चालन गर्न नदिएको उहाँको भनाइ छ । 

     

    “पटक पटक पत्रकार सम्मेलन गरेर हाम्रा मागका सन्दर्भमा महानगरको ध्यानाकर्षण गरायौँ, हुलाकमार्फत पनि मागपत्र पठायौँ, हालसम्म कुनै सम्बोधन भएको छैन”, अध्यक्ष गुप्ताले भन्नुभयो ।

    कांग्रेस सभापति तथा पूर्व मन्त्री धनराज गुरूङ विरुद्ध सहकारी ठगी र नकली पारपाचुकेसम्बन्धी आरोप छानबिन गर्न रास्वपा सांसदको माग

    काठमाडौँ । संसदमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुन मन्त्री धनराज गुरुङ विरुद्ध लागेको सहकारी रकम ठगीसम्बन्धी आरोपको छानबिन गर्न माग गरिएको छ ।सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङ विरुद्ध लागेको  सहकारी ठगी र नक्कली डिभोर्सबारे छानबिन गर्न माग गरेका हुन् ।
    उपसभापति गुरुङमाथि सहकारीको रकम अपचलनको विषयमा छानबिन हुन्छ कि हुँदैन भनी कांग्रेस सांसदहरूलाई रास्वपाका सांसद पराजुलीलाई प्रश्न गरे ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको छ । उक्त समितिको नेतृत्व नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले गरेका छन् ।

    सम्पत्ति बीमा निर्देशन २०८०मा संशोधन, जलविद्युत बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण जोखिम अनिवार्य गरियो

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० संशोधन गरेको छ । प्राधिकरणले जलविद्युतको बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यसम्बन्धी जाखिमको व्यवस्थालाई निर्देशन संशोधन गरी अनिवार्य गरेको हो ।

     

    यसअघि निर्देशिकामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यसम्बन्धी  जाखिमको व्यवस्था बीमितका लागि ऐच्छिक भनी राखिएको थियो । जसको बीमाशुल्क ६ महिनासम्म ०.३० प्रति हजार र ६ महिनादेखि १ वर्षसम्म ०.५० प्रति हजार रुपैयाँ थियो ।

    ‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो’ : प्रकाशशरण महत

    डडेल्धुरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । आज नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गर्नुभयो ।

     

    “पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको हो । यसबाट मुलुकमा स्थिरता कायम हुनुका साथै जनतामा आशा उब्जिएको छ”, प्रवक्ता महतले भन्नुभयो, “अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन् ।” उहाँले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गर्नुभयो ।

    प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने

    काठमाडौं। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले उक्त कार्यका लागि शेयरको खरीद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा नियुक्त गरेको छ ।

    कम्पनीले २२ लाख ५ हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ करोड ५० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नियुक्त गरेको हो । 
    सोमवार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रुपमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

    काठमाडौँ । ‘बैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरु संशोधनसहित पारित गरिएको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।

     

    अर्थ समितिको आजको बैठकले चेक अनादर ९चेक बाउन्स०सम्बन्धी मुद्दामा रु १० करोडभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाएको सभापति चालिसेले बताउनुभयो । समितिको  आइतबार बसेको बैठकले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद र रु एक करोडभन्दा माथिको बिगो भए  दुई वर्षसम्म कैदको सजाय गर्ने व्यवस्था विधेयकमा राख्ने सहमति जुटाएको थियो । तर आजको बैठकमा समितिका केही सदस्यहरुले रु १० करोडभन्दा माथिको बिगोमा कैद सजाय बढाइनुपर्ने धारणा राखेपछि सोभन्दा माथिको चेक बाउन्ससम्बन्धी मुद्दामा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा राखिएको छ ।

     

    अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका निर्देशक फाखौरीलाई नेपालको आर्थिक सुधारको आधार तयार भइरहेको महासंघका अध्यक्ष ढकालद्वारा जानकारी

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधारको आधार देशमा तयार भइरहेको बताएका छन् ।अध्यक्ष ढकालले सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटवार्तामा बताएका हुन् । 

     

    सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएर नयाँ पुस्ताका लागि सुधारहरू अगाडि बढाएको अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय निर्देशक फाखौरीलाई जानकारी दिए ।

    सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न सकिने विश्वास अध्यक्ष ढकालले व्यक्त गरे ।दुई संस्थाले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार गर्न मिलेर जान सकिने पनि अपेक्षा उनले व्यक्त गरे ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ । उहाँले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गर्नुभएको थियो । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्नुभएको थियो । 

     

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुखसहित छलफल भएको थियो । बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको समस्यौदा राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ । नेपाल प्रहरीको विधेयकको समस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको समस्यौदा बिहीबार पठाएको उहाँले जानकारी दिनुभयो । 

    होटेल, रेस्टुरेन्ट र बारमा डिजिटल भुक्तानी गर्ने उपभोक्ताले १० प्रतिशत भ्याट फिर्ता पाउने

    काठमाडौं ।   आन्तरिक राजस्व विभागले उपभोक्ताले कर लाग्ने वस्तु तथा सेवा खरिद गरी तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको छ । विभागले एक सूचना प्रकाशित गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरुप १० प्रतिशत कर रकम फिर्ता गर्न भनेको हो । 

     

    विभागले आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई सो व्यवस्था कार्यान्वयन गर्न सूचित गराएको छ । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह(रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरु रहेका छन् ।

    डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

    म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो ९एलएनटी०सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । 

     

    मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१  डिसेम्वर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो ।  आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिनुभयो । “तीस महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ”, उहाँले भन्नुभयो, “राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।”

     

     

     

     

    प्रतिक्रिया दिनुहोस