Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मुद्रास्फीति मापन गर्ने आफ्नो विधिमा परिवर्तन गर्दै राष्ट्र बैंक , सरकारका अन्य निकायका तथ्यांक उपयोग गर्ने नीति


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 315
    Shares

  • मुद्रास्फीति मापन गर्ने आफ्नो विधिमा परिवर्तन गर्दै राष्ट्र बैंक , सरकारका अन्य निकायका तथ्यांक उपयोग गर्ने नीति

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले  मुद्रास्फीति(महँगी) गणना गर्न आफ्नो ५० वर्ष पुरानो विधिमा फेरबदल गरेको छ ।आफैले पारिवारिक बजेट सर्वेक्षण गरी निकाल्दै आएको मुद्रास्फिती गणना प्रक्रियामा फेरबदल गरी राष्ट्रिय तथ्यांक कार्यालयले निकाल्ने पारिवारिक बजेट सर्वेक्षणको उपयोग गर्ने भएको हो ।

    केन्द्रीय बैंकले मुद्रास्फीति गणनाका निमित्त निकालिने उपभोक्ता मूल्य सूचकांक र मुद्रास्फीतिमा यसको भार मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणको तथ्यांकलाई उपयोग गर्ने जनाएको छ ।राष्ट्र बैंकले ५ दशकदेखि पारिवारिक बजेट सर्वेक्षण गरी वस्तु तथा सेवाको  बास्केट  र भार निर्धारण सहित भारित उपभोक्ता मूल्य सूचकांक(वेटेड कन्ज्युमर प्राइस इन्डेक्स) प्रकाशन गर्दै आएको छ ।

    आर्थिक वर्ष २०२९÷३० मा नेपाल राष्ट्र बैंकले पहिलो पारिवारिक बजेट सर्वेक्षण गरेको थियो । त्यसपछि उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा भइरहने  परिवर्तनलाई समावेश गर्न नेपाल राष्ट्र बैंकले हरेक १०÷१० वर्षमा पारिवारिक बजेट सर्वेक्षण गर्दै आएको छ ।  उपभोक्ताको आम्दानी र खर्चको यथार्थ आँकडाका आधारमा भारांक परिवर्तन हुँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०४२÷४३ मा दोस्रो, आर्थिक वर्ष २०५२÷५३ मा तेस्रो र आर्थिक वर्ष २०६२÷६३ मा चौथो पारिवारिक बजेट सर्वेक्षण गरेको थियो ।
    केन्द्रीय बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले  जानकारी सार्वजनिक गरे अनुसार सरकारले गरेको सर्वेक्षणलाई आधार बनाएर उपभोक्ता मूल्य सूचकांक (कन्ज्युमर प्राइस इन्डेक्स–सीपीआई) तयार गर्ने कार्य भइरहेको छ ।

    चालू आर्थिक वर्षदेखि नयाँ उपभोक्ता मूल्य सूचकांक प्रकाशन  गरिने र त्यस अनुसार मुद्रास्फीति मापन गरिने छ ।पाँचौँ पारिवारिक बजेट सर्वेक्षण २०७०÷७१ मा गरिए अनुसार अनुसार ४०२ वस्तु तथा ९४ सेवा गरी ४९६ वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिएको छ । यी वस्तु तथा सेवाहरुले घर परिवारको खर्चको ९७ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने भएकाले उपभोक्ता मूल्य सूचकांकका लागि उक्त वस्तु तथा सेवामा गरिने खर्चले घरपरिवारको खर्च संरचनाको यथार्थपरक तस्बिर दर्शाउने राष्ट्र बैंकको विश्वास छ ।

    पारिवारिक बजेट सर्वेक्षणका आधारमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने वस्तुको खर्च भार ४३.९१ प्रतिशत तथा गैरखाद्य तथा सेवा समूह अन्तर्गत पर्ने वस्तु तथा सेवाको खर्च भार ५६.०९ प्रतिशत छ ।खाद्य तथा पेय पदार्थअन्तगर्तत १३ उपसमूह छन् भने गैरखाद्य तथा सेवा समूहमा ९ उपसमूह रहेका छन् ।उपभोक्ता मूल्य सूचकांक गणनाका लागि २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्रहरु तोकिएका छन् ।बजार केन्द्रको छनौट गर्दा आर्थिक गतिविधिको अवस्था, घरपरिवारको खर्चको आकार, भौगोलिक प्रतिनिधित्व आदि जस्ता पक्षलाई आधारको रुपमा लिइएको छ ।

    यसरी छानिएका बजार केन्द्रहरुबाट  वस्तु तथा सेवाहरुको मूल्य संकलन साप्ताहिक, मासिक तथा त्रैमासिकरुपमा गरिन्छ ।यसपछि प्रत्येक वस्तु तथा सेवाको सापेक्षिक मूल्य सूचकांक (रिलेटिभ प्राइस इन्डेक्स) निकालिन्छ । सूचकांकहरुको औसतका आधारमा उपभोक्ता मूल्य सूचकांकको निर्माण गरी गणना गरिएका सूचकांकलाई जोडेर उपभोक्ता मूल्य सूचकांक गणना गर्ने विधि अपनाइन्छ ।

    यसरी राष्ट्र बैंकले आफैंले अध्ययन गरेर उपभोक्ता मुल्य सचकांक र मुद्रास्फीतिमा वस्तु तथा सेवाको भारांक निर्धारण गर्दै आएकोमा अब राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार निकालेर मुद्रास्फितीको गणना गरिने भएको छ ।राष्ट्र बैंकले अपनाएको यो बाटोको आलोचकहरूले यसबाट वास्तविकतासम्म पुग्न नसकिने तर्क सारिरहेका छन् भने समर्थकहरूले यसबाट तथ्यांकहरूमा एकरूपता आउने र सरकारका अन्य निकायहरूलाई तथ्यांक निकाल्दा जिम्मेवार बनाउन सकिने विश्वास गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस