Logo

Sep 18 2024 | २०८१, असोज २गते

images

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो


नया सडक

२०८१, भदौ २९ शनिबार

  • 171
    Shares

  • सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो


    काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको आरोप लागिरहेका बेला चिनारीले भने प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर–४ स्थित किसिगालमा हाटबजार गर्न थालेको हो । 


    सहकारीले हाटबजार सुरु गरेको पाँच महिनामा किनमेल गर्नेको भीड बढ्न थालेको छ । सहकारीका सदस्यले करेसाबारीमा उत्पादित कृषि उपज बजारमा राखी बिक्री गर्दै आएका छन् । बिहान छ बजेदेखि १० बजेसम्म लाग्ने बजारमा सस्तोमा गुणस्तरीय सामान पाइने भएकाले उपभोक्ताको भीड बढ्न थालेको सहकारीका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उपभोक्ताले हप्तामा एकपटक हाटबजार सञ्चालन गर्न माग गरिरहेका उहाँले बताउनुभयो ।


    सहकारीले उत्पादक सदस्य र उपभोक्ताबीच समन्वय गरी बजार सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । हाटबजारमा सस्तोमा गुणस्तरीय उत्पादन पाइन्छ भन्ने सन्देश प्रवाह भएकाले उपभोक्ताको भीड लाग्न थालेको उहाँको भनाइ छ । बजार सञ्चालन गर्न थालेपछि सहकारीका ऋणीसँग पैसा उठाउन पनि सजिलो भएको छ । 


    उपभोक्ताले हप्ता दिनमा एकपटक बजार सञ्चालन गर्न माग गरेकाले पाक्षिक रुपमा सञ्चालनको तयारी भइरहेको सहकारी कृषि समितिका संयोजक सूर्यमाया श्रेष्ठले जानकारी दिनुभयो । हाल हाटबजार स्थलमा १५ वटा कक्ष राख्न सकिने भएकाले थप कक्ष राख्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।


    हाटबजारमा दैनिक उपभोग्य सामग्री पाइने भएकाले आफू सधैँ आउने गरेको स्थानीय रामबहादुर श्रेष्ठले उल्लेख गर्नुभयो । “स्थानीयस्तरमा उत्पादित ताजा तरकारी र अन्य कृषि उपज पाइने भएकाले कम्तीमा हप्तामा एकपटक बजार सञ्चालन गर्न माग गरेका छौँ”, उहाँले भन्नुभयो ।


    हाटबजारमा विभिन्न किसिमका सागसब्जी, सिलाम, तयारी अचार, हातले बनाइएका कपडा, मूर्ति, पिठो, धूप, अगरबत्ती, नौनी, दूध, दही, फलफूलका बिरुवा, खुर्सानीलगायत सामग्री राखिएका छन् । हाटबजार लाग्ने दिन सहकारीले पाल, मेच र चियापानको व्यवस्था गर्दै आएको छ । 


    दुई हजार छ सय १४ शेयर सदस्य रहेको सहकारीको कूल पुँजी रु ३४ करोड छ । सहकारीले सदस्य केन्द्रित गतिविधि गरिरहेकाले कुनै समस्या नआएको सहकारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीमा १० प्रतिशत खराब कर्जा रहेको भन्दै उठाउन पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।


    प्रतिक्रिया दिनुहोस