Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सोह्र श्राद्ध सुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड


नया सडक

२०८१, असोज २ बुधबार

  • 138
    Shares

  • सोह्र श्राद्ध सुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

    काठमाडौँ ।यहाँको गोकर्णेश्वर उत्तरगया धाममा सोह्र श्राद्ध गर्नेको भीड लाग्न थालेको छ ।

     सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा श्राद्ध गर्न श्रद्धालुको भीड लागेको हो । राजधानीमा डेरा लिएर बसेकाहरु यहाँ श्राद्ध गर्न आउने गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले सोह्रश्राद्ध भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिने समितिका सदस्य एवं धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । चाडपर्व यज्ञ आदि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । 

     पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । बडादशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

    प्रतिक्रिया दिनुहोस