Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असोज २ बुधबार

  • 123
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज २ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?

    काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

     

    आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गर्नुभयो ।

    “केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम रु ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम रु पाँच÷छ अर्बमा खुम्चिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।”

    ठमेल प्लाजा होटलले १० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा  एसबीआई मर्चेन्ट

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणलाई १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकति दरका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।   

     

    बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र ठमेल प्लाजा होटल एण्ड सुइटस्को तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्यूब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ । बुधबारको अन्तिमा कारोबार मूल्य २८४.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २३७.४२ रुपैयाँ कायम भएको छ ।

    शेयर बजार ओरालो बाटोमा जाँदा सरकार चिन्तित, अर्थमन्त्री पौडेलले गरे नेपाल स्टक एक्सचेन्जको स्थलगत भ्रमण

    काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले घट्दो शेयर बजारको विषयमा जान्न आफै नेपाल स्टक एक्सचेन्ज पुगेका छन् । पछिल्लो एक महिनामा नेप्से ४सय अंकले झरेर ओरालो लागेपछि अर्थमन्त्री पौडेलले चिन्ता चासो व्यक्त गर्न बुधबार नेप्से पुगेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा अर्थमन्त्री पौडेल आउने भएदेखि उछालको प्रवृति सुरु भएयता प्रधानमन्त्री ओली समेतले यसको जस लिने अभिव्यक्ति सार्वजनिक गर्दै आएका बेला बजार ओरालो लागेको छ ।

     

    अर्थमन्त्री पौडेलले राजस्व सचिव दिनेश घिमिरे र नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यवाहक अध्यक्ष महेश बरालसहित नेप्सेमा पुगेर शेयर बजार ओरालो लागेको विषयमा सवाल सोधेका थिए ।असार १७ पछि नेप्से ९४७ अंकले बढेर साउन ३१ गते ३००० विन्दु पुगेको थियो।

    कुमारी बैंकको २४ लाख २२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । कुमारी बैंकले आजदेखि २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
    बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । नबिल बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
    बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    आज नेपाल इन्सुरेन्सको ६६ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं । नेपाल इन्सुरेन्सको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।
    यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । 

    साहस उर्जाको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद पनि जारी गर्ने

    काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । 

    उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ ।

    सुनको मूल्य तीन सयले घट्यो , प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको छ । 

     

    बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ९० रुपैयाँ कायम भएको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५७२।७ डलरमा र चाँदी प्रतिऔंस ३०।४८ डलरमा कारोबार भइरहेको छ ।

    प्रभुका दुई म्युचुअल फण्डको लाभांश घोषणा, १० प्रतिशत प्रतिफल पाउने

    काठमाडौं । प्रभु क्यापिटलले दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरेका छन् ।

     

    कम्पनीले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरूलाई ८.५० प्रतिशत नगल लाभांश वितरण गर्ने भएको हो ।दुईटै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । यी म्युचुअल फण्डको कोष प्रवद्र्धक प्रभु बैंक हो भने योजना व्यवस्थापक प्रभु क्यापिटल हो ।

    विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

    काठमाडौँ ।बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।
    गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गर्नुभएको शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको थियो । 
    बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग मङ्गलबार गर्नुभएको भेटवार्तामा पनि सोही विषयमा छलफल भएको जनाइएको छ । यसअघि गत असारमै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा अवसरमा सम्झौताको तयारी गरिएपनि विभिन्न कारणले तत्कालीन समयमा यसले मूतरुप लिन सकेको थिएन । यसअघि बङ्गलादेशले पहिलो चरणमा ४० मेगावाट बिजुली लैजान सहमति जनाइसकेको छ ।

    विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

    काठमाडौ ।नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । 

     

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

     

    साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ ।

    चीनबाट आयात गरिने घिउको आयात मूल्यमा यो साउन प्रतिकिलो ४२ रुपैयाँ बढीले घट्यो , आयात बढ्यो

    काठमाडौँ । चीनबाट आयात गरिने घिउको मूल्यमा गिरावटका कारण आयातमा वृद्धि  भएको छ ।गत आर्थिक वर्ष २०८०/८१मा आयात भएको कुल परिमाण जति चालु आर्थक वर्षको पहिलो महिना साउनमै आयात भएको हो ।गत आवमा एचएसकोड ०४०५९०१० भएको घिउको चीनबाट कुल परिमाण ७ सय ५५ किलो आयात भएको थियो । चालु आवको पहिलो महिनामा ६सय २८ किलो आयोत भएको हो ।

     

    गत आवको पहिलो महिना साउनमा आयात भएको घिउको आयात मूल्य (इम्पोर्ट्स भ्यालु) प्रतिकिलो १ सय ४२ रुपैयाँ ८५ पैसा बढी रहेको देखिन्छ । गत आवको साउन महिनामा चीनबाट २१ किलो आयात भएको घिउको आयात मूल्य ३ हजार रहेको र त्यसको भन्सार राजस्व (इम्पोर्ट्स रेभेन्यू) २ हजार रहेको छ ।सोही एचएसकोडको घिउ चालु आवमा ६सय २८ किलो आयात हुँदा आयात मूल्य प्रतिकिलो १ सय रुपैया ३१ पैसा बढी रहेको  छ  भने भन्सार राजस्व ५८ रुपैया ९१ पैसा बढी प्रतिकिलो घिउ प्राप्त भएको भन्सार विभागले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    सोह्र श्राद्ध सुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

    काठमाडौँ ।यहाँको गोकर्णेश्वर उत्तरगया धाममा सोह्र श्राद्ध गर्नेको भीड लाग्न थालेको छ ।

     

     सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा श्राद्ध गर्न श्रद्धालुको भीड लागेको हो । राजधानीमा डेरा लिएर बसेकाहरु यहाँ श्राद्ध गर्न आउने गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले सोह्रश्राद्ध भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    मंसिर १६ गते  स्थानीय तह उपचुनाव गराउने निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपचुनाव मंसिर १६ गते गराउने  गरी स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ ।बुधबार प्रेस विज्ञप्ति जारी गरी आयोगले कार्यतालिका बारे जानकारी दिएको हो।

     

    कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ। असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने र  असोज २० गते दल दर्ता स्वीकृत गर्ने कार्यतालिका छ।

    निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा छ।

    साइबर अपराधमा अनुसन्धान गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति

    काठमाडौँ ।प्रहरीले अदालतबाट  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्ने अनुमति पाएको छ ।जिल्ला अदालत, काठमाडौँले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार रामु शर्माले जानकारी सार्वजनिक गरेका हुन् ।

     

    साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्द प्रहरीको केन्द्रीय साइबर ब्यूरो अदालत गएको थियो ।बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

    संविधान दिवसको अवसर पारेर धरहरा  बिहीबारदेखि खुला हुँदै

    काठमाडौँ । संविधान दिवसको अवसर पारेर भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो ।

     

    यो निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का परियोजनालाई मन्त्रिपरिषद बैठकको निर्णयपछि निर्देशन दिएको थियो ।परियोजनाले बिहीबारदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था मिलाउन लागिएको हो ।अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

    बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ ।बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

     

    यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

    दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

    काठमाडौँ ।संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । 

     

    भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

     

    कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ । बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।

    बुधबार बैंकिङ प्रणालीबाट  २५ अर्ब तरलता सोस्दै राष्ट्र बैंक

    काठमाडौँ । दुई खर्ब बढी रकम परिपक्व हुन बाँकी रहेकै बेला नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको तलता तान्न लागेको छ ।राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा तरलता बढेपछि २५ अर्ब रुपैयाँ  खिच्न लागेको हो ।

     

    राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थाले बुधबार अपराह्न ३ बजेसम्म यसका लागि प्रस्ताव गर्न समय दिएको छ ।यसअघि बोलकबोलमार्फत खिचेको २ खर्ब १५ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेको छ।

    स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजना पक्राउ

    सिरहा । सिरहामा स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजबिराज नगरपालिका १० का ५७ वर्षिय मजित मिया, सोही ठाउँका २८ बर्शिय मो. अल्लाउदिन र २३ वर्षिय अजय चौधरी रहेका छ्न। स ९ प ११६२ नम्बरको मोटरसाइकल चढेर हुन्डीसम्बन्धी कारोबार गर्नेहरू लहानतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारीले मोटरसाइकलसहित तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

     

    जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ स्थित चेक जाँच गर्नेक्रममा उनीहरूले आ–आफ्नो साथमा लुकाएको १४ लाख १९ हजार आठ सय ९० नेपाली रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

    जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

    म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो ।

     

     

    जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँड्ेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ ।

    भोजपुरको अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

    टक्सार ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । 

     

    ख्ुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाँैसम्म पनि उत्तिकै छ । 

     

    अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हँुदै आएको छ ।  मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।”

    पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

    काठमाडौँ । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ ।

     

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा गत भदौ २७ र २८ गते सो सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनबाट प्राप्त भएको निष्कर्षलाई सुत्रबद्ध गरेर सरकारलाई बुझाइने आयोजकमध्येको एक परिसङ्घले जनाएको छ ।

    आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

     

    हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

    विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम  सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत  पहाडी भागका केही स्थानमा  मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना  छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस