काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज १४ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......
कामना सेवा विकास बैंकको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ७ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य रू। ४३२ दशमलव ३४ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
शेयर बजार : नेप्से परिसूचकमा ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा, ४ अर्ब३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा आएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । फाइनान्स, उत्पादनमूलक र होटेल तथा पर्यटन समूहको वृद्धि राम्रो देखएिको छ ।यस दिन ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३१९ कम्पनीको ९७ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।
आज कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १५ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
सानिमा इक्विटी फण्डले सूचीकृत शेयरमा लगानी घटायो
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएको छ । साउन मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ९ करोड लगानी गरेकोमा भदौ मसान्तमा घटाएर रू. ६८ करोड ९६ लाखमा झारेको हो ।
हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर असोज १४ गतेदेखि विक्रीमा आएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक २.१९ विन्दुले बढेको छ । यससँगै सूचक २४६६.६० विन्दुमा आएको छ । १३ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १५ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै
काठमाडौँ । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा हुने मेला घरेलु तथा साना उद्योग सङ्घ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा गर्न लागिएको हो । सङ्घका सचिव तथा मेला संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।
दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।
बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति
ललितपुर ।अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पु(याएको छ ।
यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र रु एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ । कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पु-याएको छ ।
सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय
काठमाडौँ ।वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो ।
‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै सङ्घले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ’ सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बाढीपहिरो र दुबानमा परी देशभर बाढीपहिरोबाट दुई सय चार जनाको मृत्यु
काठमाडौँ । विपद्का घटनामा परी देशभर दुई सय चार जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन् । अझै ३३ जना हराइरहेका छन् । कोशीमा २३, मधेसमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ । पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ । यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ ।
पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति
काठमाडौँ ।केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बाढीपहिराका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् ।
राजस्व अनुसन्धान विभागद्वारा विदेशी विनिमय अपचलन कसुरमा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतसमेत विरुद्ध करिब दुई अर्ब मागदाबीसहित मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले विकल पौडेल तथा उनकी पत्नी एलिना बस्ने उपर विदेशी विनिमय अपचलन कसुरमा करिब दुई अर्ब मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले विकल पौडेल विरुद्ध बिगोको तीन गुना एक अर्ब त्रियासी करोड उनन्चालीस लाख त्रिसठी हजार चार सय उनन्साठी रुपैयाँ समेत सजाय हुन मागदाबी लिई मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचालन गरेको पुष्टी भएको आधारमा एकसठ्ठी करोड तेह्र लाख एकाइस हजार एक सय त्रिपन्न रुपैयाँ बीस पैसा बिगो कायम हुन आएको र विदेशी विनिमय (नियमति) गर्ने ऐन २०१९को दफा १७ बमोजिम ३ गुनाले उक्त मागदाबी लिई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
काठमाडौंँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ता हरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् ।
बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् ।
सरकारसँग मिलेर बाढी पीडितलाई चेम्बरले सहयोग गर्ने
काठमाडौंँ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अबिरल बर्षाका कारण काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदान जनाएको छ ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबिरल बर्षाका कारणले देशको उद्योग धन्दा, पेशा व्यवसायमा गम्भिर असर गरेको भएपनि बजारमा औषधि, खाद्यन्न लगायत अत्यावश्यकीय बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ, ।’चेम्बरले खाद्यन्न लगायतका बस्तुहरुको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मुल्यवृद्धि हुन नदिने तर्फ सवै व्यवसायीहरुको सहयोग रहने समेत बताएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर
काठमाडौँ असोज ६ गते पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धानपाछि मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध दुईवटा फरक फरक उजुरीमा मुद्दा दायर भएको हो।ब्यूरोको टोलीले असोज ६ गते भक्तपुरबाट प्रसाईंलाई उनको घरबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले प्रहरीलाई पक्राउ अनुमति दिएको चार दिनपछि प्रसाईँ परेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो ।पक्राउ परेपछि प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन समेत दिएका थिए।
पछिल्लो समय विभिन्न व्यक्तिको चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिँदै आएका प्रसाईं विरुद्ध यसअघि बैंकिङ क्षेत्रमा ऋण नतिर्न उक्साएको अभिव्यक्तिलाई लिएर पनि सुरक्षा निकायले निगरानी बढाएको भएपनि पक्राउ गरेको थिएन् ।
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते
त्रिशूली ।छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले राससलाई जानकारी दिए ।
माइक्रोबसमा १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागी काठमाडौं पठाइएको छ ।
घटस्थापनादेखि तीनदिने नेपाली हस्तकलाको विशाल प्रदर्शनी हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुने
काठमाडौं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु¥याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् ।काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् ।
यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताउनुभयो ।
नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’हरूद्वारा अन्याय र विभेद गरिएको भन्दै व्यवस्थापन विरुद्ध प्रदर्शन
काठमाडौँ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले प्रतिशोध साँधेकोमा नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’ हरूले अन्याय र विभेद भएको भन्दै व्यवस्थापनविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।वर्षौंदेखि अन्याय र विभेदमा पारिएका कार्यरत ‘क्याबिन क्रु’ हरूले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन् ।सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैनजस्ता नारा लेखेका प्लाकार्ड बोकेका चार दर्जन जति क्याबिन क्रुहरूले सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरे ।
सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबिच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन
काठमाडौँ । अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ती अवरुद्ध भएको थियो । कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाई हुँदै आएको थियो ।
काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भएपनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको छ ।
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
बेरुत ।प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ ।
“हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।”
आक्रमणमा उहाँकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ ।
लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ ।
चाडपर्व लक्षित बजार अनुगमनः दुईसातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ होटल÷रेस्टुरेन्ट, २४ खाद्य उद्योग र दुई वटा डायट्री सप्लिमेन्ट बिक्रेता फर्ममा निरीक्षण अनुगमन गरिएको उहाँले बताउनुभयो ।
यस्तै, ललितपुरमा २३ खाद्य कम्पनीमा अनुगमन गरिएको छ । धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्ड र अभिलेख नपाइएको हुँदा खाद्य ऐनबमोजिम नमूना सङ्कलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ गर्ने स्थान सिलबन्दी गरिएको छ ।
निरन्तरको वर्षापछि आएको बाढी पहिरो र डुबानले कपडा व्यवसायीहरू तनावमा, कपडा उद्योग र गोदामहरू डुबे, समस्यामा कपडा उद्योगी /व्यवसायीहरू
काठमाडौँ । अविरल वर्षा पछि आएको बाढी पहिरो र डुबानले कपडा उद्योगी व्यवसायीहरू तनावमा परेका छन् ।यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण कपडा उद्योगी व्यवसायीहरू समस्यामा परेका हुन् ।हिन्दुहरूको महान चाड दशैँकै मुखमा आएको विनासकारी अविरल वर्षाले उद्योग र गोदाम डुबाउँदा उद्योगी /व्यवसायीहरू तनावमा परेका छन् ।
मुख्यतःहिन्दुहरूको महान चाड दशैँमा कपडा अत्यधिक बिक्री हुने गर्दछ । दशैँमा नयाँ कपडा लगाउने विगत लामो समयदेखिको परम्परा र संस्कृति भएका कारण दशैँमा अरु समयको तुलनामा बढी कपडाको बिक्री हुने गर्दछ । कपडाका उद्योगी व्यवसायीहरूले वर्षभरि उधारो दिने र दशैँमा पैसा उठाउने चलन पनि विगत देखि चल्दै आएको छ । निरन्तर परेको वर्षाका कारण व्यवसायीहरू यसपटक उधारो पैसा उठाउन गाउँ गाउँमा जान नसक्ने अवस्थामा पुगेका छन् ।
मुख्य कारोबार हुने सिजनमा आएको वर्षाले बितण्डा मच्चाउँदा व्यवसायीहरू गाउँ गाउँबाट कपडा खरिद गर्न काठमाडौँमा आउन समेत सकेनन् । यसले पनि कपडाका थोक तथा खुद्रा व्यापारीहरू समस्यामा परेका छन् ।वर्षाका कारण काठमाडौँका सबै लाइफ लाइनहरू बन्द हुँदा काठमाडौँबाट कपडाहरू बाहिर जान सकेनन् भने काठमाडौँ उपत्यका बाहिरबाट समेत कपडाहरू काठमाडौँ उपत्यकामा आउन सकेनन् ।
बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा
लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।
बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ ।
सरकारले ट्रेजरीमार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेंस) तथा १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो ।
बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । सरकारले ५ अर्ब बराबरको २८ दिने र ७ अर्ब ७५ करोड बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्ब बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गरेको हो ।
अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
बागमती ।वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन् ।
यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै हुनुहुन्छ । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।