काठमाडौँ । सबै भन्दा बढी पर्यटक सेप्टेम्बर महिनामा भारतीय रहेपनि तुलनात्मकरूपमा भारतीय पर्यटक आगमन घटेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार श्रीलंकाली पर्यटकको आगमन बढेको हो ।
सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार हवाई मार्ग भएर ९६ हजार ५ सय ५ जना पर्यटक नेपाल घुम्न आएका हुन् । २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना मात्र पर्यटक नेपाल आएका थिए । सेप्टेम्बर महिनामा सबैभन्दा धेरै भारतबाट मात्रै २२ हजार ९ सय ८४ पर्यटकले नेपाल घुमेका छन् ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ । वर्षायाममा धेरै प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा ठूलो गिरावट आएको छ ।भारतीय पर्यटक दुर्घटनामा परेपछि यसको असर पर्यटक आगमनमा परेको पनि हुनसक्ने देखिएको हो ।
युएईबाट सेप्टेम्बर महिनामा १० हजार ८४, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार ३८ र श्रीलंकाबाट ४ हजार ९ सय १५ पर्यटक नेपाल आएका छन् । नेपाल र कोलम्बो सिधा उडान सेवा भएका कारण श्रीलंकाली पर्यटक आगमनमा वृद्धि भएको आकलन छ ।यसैगरी युकेबाट ४ हजार ४ सय ९३ र बङ्गलादेशबाट ४ हजार १ सय ३, जर्मनीबाट २ हजार ७ सय ४, कोरियाबाट २ हजार ३ सय १५ र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक सेप्टेम्बर महिनामा नेपाल घुम्न आएका छन् । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।