Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा


नया सडक

२०८१, असोज १७ बिहीबार

  • 279
    Shares

  • डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा

    मध्यविन्दु ।यही असोज ११ र १२ गतेको अविरल वर्षाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ वगुवन र सिसेनी क्षेत्रका १२२ घर डुबानमा परेका छन् । 

    नारायणी नदी बस्तीमा पस्दा बगुवन र सिसेनी क्षेत्र पूर्ण रूपमा डुबानमा परेको थियो । डुबानबाट मानवीय क्षति नभए पनि घर, विद्यालय, धानखेतीमा ठूलो क्षति भएको विनयी त्रिवेणी–१ का वडाध्यक्ष दीपक पौडेलले बताउनुभयो ।  

    “बगुवन र सिसेनीका १२२ घर डुबानमा पर्दा घरभित्रको खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री पूर्णरूपमा भिजेको पाएका छौँ भने पाक्न लागेको धान बाली डुबानले नष्ट भएको छ”, उहाँले भन्नुभयो, “मानवीय र पशु चौपायामा क्षति नभए पनि भौतिक र कृषि बालीमा धेरै क्षति भएको छ ।” 

    डुबान प्रभावित घरपरिवारलाई वडाको समन्वयमा राहत सङ्कलन गरी वितरण गरिएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी तत्काल अत्यावश्यक राहत वितरण गर्ने निर्णय बमोजिम स्थानीय समाजसेवीसँग सङ्कलन गरी राहत वितरण गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

    गाउँपालिका कार्यालय र वडा नम्बर १ को समन्वयमा खाद्यान्न, त्रिपालसहितका सामग्री वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । केही दिनका लागि अत्यावश्क खाद्यान्न वितरण गरिए पनि अब बाँकी दिनका लागि कसरी व्यवस्थापन गर्ने चुनौती रहेको उहाँले बताउनुभयो । यस क्षेत्रमा करिब १०० बिघा क्षेत्रमा लगाइएको धानखेती डुबानमा परेको छ । 

    “घरभित्र रहेको सबै खाद्यान्न भिजेकाले ठूलो चुनौती देखिन्छ , खेतमा रहेको धानबाली पनि डुबानले असर गरेको हुँदा यहाँका डुबान प्रभावितका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्नु तत्काल आवश्यक देखिन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म स्थानीयस्तरबाट गर्न सकिने सहयोग गरेका छौँ, अब अन्य सहयोगी हातको पनि आवश्यकता परेको छ ।”

    डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य संवेदनशीलताको ख्याल गरी स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गरिएको छ । स्थानीयमा कुनै प्रकारको स्वास्थ्य समस्या नहोस् भन्नका लागि स्वास्थ्य परीक्षण र आवश्यक औषधि वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । 

    गाउँपालिकामा असोज ११ र १२ गतेको वर्षाले बगुवन र सिसेनी क्षेत्रमा पु¥याएको क्षतिको आकलन गरी गाउँपालिकाको तर्फबाट राहत घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । बगुवन क्षेत्रमा बर्सेनि नारायणी नदी डुबानले समस्या पार्ने गरेकामा यसवर्ष ठुलो क्षति भएको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । डुबान प्रभावितका लागि अहिलेसम्म स्थानीयस्तरबाट गर्न सकिने सहयोग गरिएको भए पनि बाह्य सहयोग प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । 

    “गाउँपालिकाभित्रको समग्र क्षतिलाई मूल्याङ्कन गरी सक्दो राहत दिने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “धान बालीमा धेरै क्षति भएकाले यसको असर आगामी वर्षसम्म पनि रहने भयो ।”

    डुबानका कारण विद्यालय पूर्णरूपमा बन्द 

    डुबानका कारण बगुवनमा रहेको लक्ष्मी आधारभूत विद्यालय पूर्णरूपमा बन्द भएको छ । विद्यालयमा लेदो माटो पसेकाले विद्यालयको शैक्षिक गतिविधि पूर्णरूपमा बन्द भएको वडाध्यक्ष पौडेलले बताउनुभयो । सामान्य वर्षामा पनि विद्यालयभित्र पानी पस्ने गरेकामा यसवर्ष विद्यालयको छानोसमेत ढाक्ने गरी डुबान भएकाले विद्यालय दसैँपछि मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताउनुभयो । 

    विद्यालयमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा वर्षाले विद्यालय डुबानमा परेपछि बिचमा नै अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा दुई विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयभित्रका कम्प्युटर, पाठ्यपुस्तक, कागजपत्र सबै डुबानमा परेका कारण विद्यालयमा भएको यकिन क्षति निकाल्न बाँकी रहेको शिक्षा शाखा प्रमुख पाण्डेले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस