काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज १८ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....
आँखुखोला जलविद्युतको साढे १७ लाख कित्ता लिलामी भर्ने आइतबार अन्तिम दिन
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामी भर्ने आइतबार ९असोज २० गते० अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारण समूहको यो सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मातृभूमि लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
वित्तीय सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेन , नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक
काठमाडौँ ।नेपालको संविधान २०७२ जारी भएर मुलुक सङ्घीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय सङ्घीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘सङ्घीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राख्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताउनुभयो ।
आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै
काठमाडौैं । शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किनरबेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।
यस अघि सेक्यूर्ड सेक्युरिटीले दिँदै आएको नेप्से टिएमएस सुबिधा आइतबारदेखि बन्द हुने जनाएको छ। सेक्यूर्ड सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्तालाई नयाँ टिएमसको लगइन गर्न एक सूचना जारी गरेको छ। यसैगरी नयाँ टिएमएस कसरी चलाउन सकिन्छ भन्ने तालिम लिन चाहनेले लगानीकर्तालाई कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ।
नयाँ त रोकिएकै छ , धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया फेरि रोकियोे
काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि फेरि शुरु गरिएको पुरानो प्रक्रिया फेरि रोकिएको छ ।अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अन्तर्गत छानिएर सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइए अनुसार कार्य रोकिएको हो ।शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।
अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नै नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने कार्य रोकिन पुगेको छ ।तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न बोलाइएको थियो ।
मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक ११ गते , ४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने
काठमाडौैं । मारूती सिमेन्ट्स लिमिटेडले कात्तिक ११ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्र्टर्ड कार्यालय ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा कर समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ ।
हिमालय उर्जा विकासको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको लिलामी सेयरको बोलपत्र आज खोलिदैछ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यस बोलपत्र आवेदन आज बिहान १० बजेबाट बिक्री प्रबन्धक बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर काठमाडौंमा खोलिनेछ ।
अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते , बोनस शेयर वितरण गर्ने प्रस्ताव
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले कात्तिक १४ गते, बुधबार होटल क्रिस्टल पशुपती, गौशाला काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो।सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
ओरियन्टल होटल्सको साधारण सभा असोज २० गते , ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव
काठमाडौं । ओरियन्टल होटल्सको लाभांश प्रस्तावसहित असोज २० गते २७ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
सुनको भाउ नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँ
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि असोज ११ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको थियो ।
डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ
पाटन । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको आज निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले व्यवसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताउनुभयो ।
“फोन राम्रोसँग टिप्दैन भनेर गुणस्तरमा धेरैले प्रश्न उठाइरहेका छन्, कभरेज कम भयो भन्ने छ, यसमा सुधार हुनुपर्छ, टेलिकमले कभरेज, गुणस्तरमा जोड दिनुपर्छ, सबै काम सफल पार्न टेलिकमको भूमिका हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “टेलिकम्युनिकेसनमा निजी क्षेत्र व्यापार गर्न आउने हो । हामीले त कम जनशक्ति भएको ठाउँमा पनि जोड दिनुपर्छ, स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म सुशासन कायम गर्नका लागि टेलिकमको भूमिका महत्त्वपूर्ण छ ।”
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ ।
असोज १५ गते बिहीबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए । बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए ।
बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको हो ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिले शुक्रबार बसेको बैठकबाट १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस ग¥यो।
अब बस्ने मन्त्रिपरिषद बैठकले कार्यकारी समितिको सिफारिस अनुसार विपद प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने अपेक्षा गरिएको छ ।
सारेगमप लिल च्याम्प्स २ को भोटिङ खल्ती बाट सजिलै गर्न सकिने
काठमाडौँ । विभिन्न युवा मैत्री मनोरञ्जन र सोहरूमा टिकटिङ र भोटिङमा अग्रणी रहेको ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एप मार्फत सजिलै भोट गर्न सक्नेछन्।
बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट Space 4K र DOKO प्लेटफर्म मार्फत प्रसारण हुनेछ।यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहनु हुने घोषणा गरिएको छ।
यस्तो छ आठ दशक पुरानो पशुपति गौशाला धर्मशाला सञ्चालनको इतिहास, सेवाको विरासत जोगाउन मारवाडी समुदाय अन्तिमसम्म लड्ने
काठमाडौँ । १९९७ सालदेखि मारवाडी समुदायले सेवा भावबाट सञ्चालन गर्दै आएको पशुपति गौशाला धर्मशाला मारवाडी समुदायबाट खोसिएको छ ।वि.सं. १९९७ देखि मोहीको रूपमा सञ्चालित पशुपति गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् अन्तर्गत आएको छ । काठमाडौँ जिल्ला अदालतले सो विषयको विवादमा २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिए पछि सो जिम्मेवारी परिवर्तन भएको हो ।गौशाला चोकमा रहेको पशुपति गौशाला धर्मशाला १९९७ साल देखि मोही रहेको र त्यसको सञ्चालन मारवाडी सेवा समिति नेपालले गर्दै आएको थियो । उक्त सम्झौता खारेजी भएपछि त्यसको जिम्मेवारी फेरिएको छ । आठ दशकदेखि धर्मशालाको सञ्चालन जिम्मेवारी पूरा गर्दै आएको मारवाडी सेवा समिति अब त्यो जिम्मेवारीबाट कानुनीरूपमा हटेको छ ।
हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
आजको मौसम : कोशी र वागमती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज कोशी र वागमती प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, भारत आसामको उत्तरपूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपाली आकाशमा छ। आज दिउँसो कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।