Logo

Oct 06 2024 | २०८१, असोज २०गते

images

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म


नया सडक

२०८१, असोज १९ शनिबार

  • 186
    Shares

  • च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

     

    ढोरपाटन ।  उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभयो । 

     

    मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुग्नुभएका उहाँका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उहाँ दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुग्नुभएको होे । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उहाँको योजना छ । 

     

    लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उहाँ मुगुबाट यहाँ आउनुहुन्छ । 

     

    “यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उहाँले भन्नुभयो । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आउनुभएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उहाँले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताउनुभयो । 

    लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उहाँको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उहाँको योजना छ । 

     

    मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौँ बिताउनुभएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउनुहुन्छ । 

     

    “दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ”, लामाले भन्नुभयो, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने रु, केही न केही काम त गर्नु प¥यो ।”

     

    अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउनुहुन्छ । लामाको व्यवसायिक साझेदार हुनुहुन्छ मुस्ताङका कर्मा लामा । यउहाँले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताउनुभयो । 

     

    यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिनुभयो । आफूहरुले बथानमा रहेका रोज्जा ९रोजेको० च्याङ्ग्रालाई रु ४२ हजारमा दिने गरेको उहाँ बताउनुहुन्छ ।

    कर्मा भन्नुहुन्छ , “देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महङ्गो होइन, पोहोर सालको दसैँमा रु ४८÷५० हजार भन्थे अहिले रु ३८÷४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ ।”

     

    दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस