काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले आज आइतबारदेखि नयाँ टीएमएस प्रयोग गरी सेयर कारोबार गर्न पाउने भएका छन् । सेक्युर्ड सेक्युरिटिज लिमिटेड ९ब्रोकर नंम्बर ३६० ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो । अरु ब्रोकर कम्पनीहरु पनि विस्तारै नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारीमा रहेका छन् ।
नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।
मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने उनीहरुको भनाई छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् ।