काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ आएर विभिन्न देश उड्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीरूका ५० प्रतिशतसम्म उडान कटौती गरेको छ । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले एकै पटक आधाभन्दा बढी उडान सेवा कटौती गरिएपछि आपत्ति जनाएका छन् । देशी विदेशी सबै हवाई यात्रीहरूमा पर्ने भएको जनाउँदै उनीहरूले आपत्ति जनाएका हुन् ।
नेपालको हवाई सेवा क्षेत्रको नियामक निकाय उड्डयन प्राधिकरणले नेपाल आइरहेका विदेशी वायुसेवा कम्पनीका उडान कटौती गरेको गम्भीर असर नेपालबाट विदेश जाने नेपाली वायुसेवा कम्पनीमाथि पनि परेको छ ।प्राधिकरणका अनुसार कटौती गरिएको उडान तालिका आगामी कात्तिक २३ देखि लागु हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी वे, जहाज एप्रोन, पार्किङ लगायत निर्माण भइरहेका कारण प्राधिकरणले उडान कटौती गरिएको जनाएको छ ।
प्राधिकरणले कतारबाट आउने कतार एयरवेजको दैनिक चार उडान कटौती गरेर दुईमा झारिदिएको छ । यसैगरी युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट आउने फ्लाई दुबईको दैनिक पाँच उडान काटेर दुई गरिएको छ ।यूएईको शारजहाँबाट आइरहेको एयर अरेबियाको दैनिक तीन उडान तालिका कटौती गरी प्राधिकरणले एक उडान गरेको छ ।
त्यस्तै भारतको सरकारी वायुसेवा कम्पनीले हाल काठमाडौंबाट नयाँदिल्लीका लागि सातामा २१ उडान गरिरहेको छ । दैनिक तीन र कोलकाताका लागि सातामा चार उडान गरिरहेको छ ।प्राधिकरणले दिल्लीका लागि दैनिक तीन उडानमात्र बनाइदिएको छ भने कोलकाताका लागि तालिका यथावत राखेको छ ।भारतबाटै आउने अर्को निजी वायुसेवा कम्पनी इन्डिगो एयरलाइन्सको दैनिक चार उडानमा आधा कटौती गरी दुई बनाइदिएको छ । नयाँ तालिका अनुसार इन्डिगोले दिल्लीका लागि एक र मुम्बईका लागि एकमात्र उडान गर्ने छ ।मलेसियाबाट आउने मालिन्दो एयरको दैनिक तीन उडान एकमा झरेको छ ।
नेपालबाट विभिन्न देश गइरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र अर्को निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सका उडान अन्य देशले काटिदिएका छन् ।प्राधिकरणले विदेशी वायुसेवा कम्पनीको उडान कटौती गरिदिएपछि उतातिर पनि नेपाली वायुसेवाको उडान कटौती भएका छन् ।सम्बद्ध स्रोतका अनुसार प्राधिकरणले यूएईका फ्लाई दुबई र एयर अरेबियाको उडान कटौती गरेपछि यूएईले नेपाल वायुसेवा निगमलाई दुबई उडान गर्न तालिका नै दिएको छैन ।यस अतिरिक्त काठमाडौंबाट यूएईका लागि सातामा १४ उडान गरिरहेको हिमालय एयरलाइन्सको उडान संख्यामा भारी कटौती भएको छ । हिमालयले पाइरहेको साताका १४ उडान यूएईले एक्कासि चारमा झारिदिएको छ ।उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सम्बन्ध नटुट्ने गरी उडन काटिएको जनाएका छन् ।