काठमाडौँ । ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप र आबद्ध कम्पनीहरूले बाढीपहिरो र डुबानबाट पीडितहरूका लागि एकमुष्ट पाँच करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितहरूको राहत र पुनस्र्थापनाका लागि उक्त रकम उपलब्ध गराएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे। उक्त रकम कोषमा सहयोग भएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी रकम हो ।आइतबार नै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उक्त रकमसहित आइतबार प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सहयोग गर्ने सबै संस्थाहरूलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै संकटका समयमा मिलेको साथ अमूल्य हुने बताएका थिए ।