काठमाडौँ । बडादशैँ मनाउन जन्मस्थान जान चाहनेहरूलाई लामो दूरीको सार्वजनिक यातायात तथा हवाई टिकट पाउन गाह्रो भइरहेको छ ।दशैँ मनाउन यही असोज १४ गतेदेखि २१ गते सोमबार बिहानसम्म ४ लाख १५ हजार जतिले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरूले बताएका छन् ।
दशैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।बस तथा जहाजको टिकट पाउनै गाह्रो छ । माग बढेकाले टिकटको भाउ बढ्दै गएको छ ।दशैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर भएपनि बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् । कतिपयले लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर यात्रा गर्न बाध्य छन् ।