Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असोज २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 303
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असोज २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २२ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा, ४ अर्ब ५९ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा आएको छ । आज ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

     

    यस दिन ३ सय कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड १७ लाखभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन

    काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरूको पाँच सदस्यीय आयोग गठन गरेको हो । 

     

    आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा। रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्श समेत गर्नेछ ।

    ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्धमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न क्रियाशील रहेको बताउनुभएको छ । 

     

    अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६औँ क्षेत्रीय परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले समयानुकूल श्रमिकको न्यूनतम पारिश्रमिक समायोजन गर्ने नीति कार्यान्वयन हुँदै आएको बताउनुभयो । 

    कार्यस्थलमा भोग्नुपर्ने समस्या नयाँ रुपमा प्रकट भएको बताउँदै उपप्रधानमन्त्री पौडेलले श्रमिकका समस्या विश्वभर एकै किसिमका भएकाले समाधानका लागि सामूहिक प्रयास जरुरी छ भन्नुभयो ।

    राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढायो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । 

     

    दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दसैँको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।

    सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो । यो संशोधन दसैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने विभागले जनाएको छ ।

    हिमालयन ८०-२० म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाडौं । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०-२०’ म्युचुअल फन्डको लाभांश घोषणा भएको छ ।क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट यस फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

    आशा लघुवित्तको १५ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

    काठमाडौं ।आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश, नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।राष्ट्र बैंकले लघुवित्तलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृती दिएको हो।

    ग्लोबल आइएमई बैंकको ५.५ प्रतितश बोनस सेयर घोषणा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतितश बोनस दिने घोषणा गरेको छ । यस बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत बोनस दिने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

    मेडिकेयर हस्पिटलले  प्रिमियममा आइपीओ जारी गर्ने, सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आकामा होटेल, काठमाडौंमा  बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 

     

    कम्पनीले हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश गर्नेछ । त्यसैगरी, सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।  आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

    सुनको मूल्य तोलामा चार सयले घट्यो , प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।
    मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर तोलाको १९ सय ४० रुपैयाँ कायम भएको छ ।

    तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ

    बागमती ।तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

     

    प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा तीन क्विन्टल ९२ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ट्याङकर चालक मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरे निवासी २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

    राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ ।

     

     

    राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म उहाँबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

     

    इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३ः३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ ।

    खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री वितरण भइरहेका खसीबोका र च्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेका छन् । निजी क्षेत्रभन्दा सस्तो मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउँदा उपभोक्तासमेत मख्ख देखिन्छन् । 

     

     

    कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा खसी किनेर डोहो¥याइरहनुभएकी घट्टेकुलो निवासी बिनु भुर्तेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष सस्तो र राम्रो खसी भेटिएको प्रतिक्रिया दिनुभयो । 

     

    कम्पनीले यस वर्ष जीउँदो खसीबोकाको मूल्य प्रतिकिलो रु छ सय ७० तथा च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार दुई सय ३० कायम तोकेको छ । उपभोक्तालाई सो मूल्यमा प्रतिकिलो रु १० छुट दिइएको कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापा बताउनुहुन्छ ।

    कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

    काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
    नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ । 

     

    यसैबीच कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ ।

    राष्ट्रपति पौडेलद्वारा ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण

    काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

    सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

    चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो । उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुग्नुभएको थियो ।

     

    गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो ।

    चिनियाँ कम्पनीले १० रुपैयाँ दरका नेपाली नोट छाप्ने ठेक्का पायो

    काठमाडौं। १० रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का बोलकबोल मार्फत् चिनियाँ कम्पनीलाई दिएको हो ।राष्ट्र बैंकले आह्वान गरेको बोलकबोलमा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई नोट छपाइको जिम्मा प्राप्त भएको छ ।

     

    राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्न लागेको छ । ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्न ९५ करोड ३८ लाख रुपैयाँ खर्च हुने भएको छ।

    मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै

    काठमाडौँ । मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच  वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो ।

     

      खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा  खानेपानी मन्त्री  र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ ।” दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकामन्त्री यादवसहितको टोलीवार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

    अर्थतन्त्रको समग्र सुधार गर्न पूर्व अर्थसचिव खनालको अध्यक्षतामा सरकारद्वारा आयोग गठन

    काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधार गर्न  रायसहित प्रतिवेदन पेश गर्न एक पूर्व अर्थसचिवको नेतृत्वमा एक आयोग गठन गरेको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा उक्त आयोग गठन गरिएको बताएका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको जानकारी दिने बेला मन्त्री गुरूङले पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरिएको बताए ।

     

    मन्त्री गुरूङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधार गर्न रायसहित प्रतिवेदन पेश गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको भने ।निजी क्षेत्रले लामो समयदेखिको माग सम्बोधन गर्न उक्त उच्चस्तरीय आयोग गठन गरिएको देखिएको छ । निजी क्षेत्रले यसको माग लामो समयदेखि गर्दै आएका थिए ।

    सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि

    काठमाडौँ । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि गरिएको छ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य वृद्धि गरिएको जनाएको हो ।

     

     सो सूचनामा  सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धी कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णयअनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले ७ सय रुपैयाा सम्म मूल्य वृद्धि गरिएको जनाएको हो । राष्ट्रबैंकका अनुसार राष्ट्र वैंक स्वण बैंक र रोटरीको १०० वर्षको अवसरमा निकालिएका ३५ ग्रामर्को  सिक्काको मल्यमा सबै भन्दा बढी ७ सय रुपैया वृद्धि गरिएको छ । यस्तै  एउटा सिक्काको (३१.१ ग्रामको) ६ सय ५० रुपैयाँसम्मले मूल्य बढाएको हो ।

    हेटौडा र काठमाडौँ जोड्ने सबै आधा दर्जन बाटो सञ्चालनमा आए

    हेटौडा । हेटौडा काठमाडौँ जोड्ने सबै  बाटो सञ्चालनमा आएका छन् ।मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको हो । हेटौडा र काठमाडौँलाई जोड्ने आधा दर्जन मार्ग सन्चालनमा आएका छन् ।

     

    १२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै पुनः सञ्चालनमा आएपनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ यातायात सेवा बन्द थियो ।द्रुत मार्ग निर्माणमा संलग्न रहेका नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक निर्माण गरिएको छ ।

    ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु– ह्यारिस

    वासिङ्टन । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित एक अन्तरवार्तामा उहाँसँग ग्लक अर्ध–स्चालित पेस्तोल रहेको खुलासा गर्नुभएको छ । ‘निश्चय नै’ उहाँले यसलाई सुटिङ रेन्जमा चलाएको बताउनुभयो । 

     

    अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उहाँले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताउनुभएको थियो । 

     

    “मसँग एउटा ग्लक धेरै समयदेखि छ”, प्राइमटाइम सिबिएस सो ६० मिनेटमा अन्तरवार्ता दिने क्रममा कस्तो किसिमको बन्दुक छ भनेर सोधिएको प्रश्नमा पूर्वअभियोजक एवं क्यालिफोर्नियाकी पूर्वमहानायाधिवक्ता ह्यारिसले भन्नुभयो, “मेरो पृष्ठभूमि कानून प्रवर्तनमा छ र त्यसैले त्यहाँ तपाईँको जवाफ छ ।”

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कारबाट गरे सम्मानित

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक रेग्मी पुरस्कृत हुनुभएको हो । रेग्मीलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा (सुन्तला जात) व्यवसायतर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा रु १० हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको हो ।

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

    काठमाडौँ।  महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो । “उच्च अदालतको फैसला चित्त बुझ्यो भने नेपाल सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उहाँले भन्नुभयो, “उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय भएको छ ।” महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।

    चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै

    काठमाडौँ।  दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् । अब नगरपालिकाले प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने तयारीसमेत थालेको छ । चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ ।

    आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।

     

    विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

    अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

    आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

    काठमाडौँ ।  आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

     

    छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 

     

     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस