Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

मुद्दाको अन्तिम किनारा नलागेसम्म धर्मशालाको सेवा कार्यमा बाधा अड्चन नगर्न मारवाडी सेवा समितिको आग्रह


नया सडक

२०८१, असोज २३ बुधबार

  • 510
    Shares

  • मुद्दाको अन्तिम किनारा नलागेसम्म धर्मशालाको सेवा कार्यमा बाधा अड्चन नगर्न मारवाडी सेवा समितिको आग्रह

    काठमाडौँ । मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषबाट मारवाडी सेवा समितिबाट सञ्चालित पशुपति गौशाला धर्मशालाको सञ्चालनमा बाधा अड्चन नपु¥याउन सबैमा अनुरोध गरेको छ ।काठमाडौँ जिल्ला अदालतमा पशुपति क्षेत्र विकास कोषको निर्णय विरुद्ध  दर्ता मुद्दामा  सुनुवाई हुँदा निवेदकको दाबी नपुग्ने भनी घटस्थापनाको अघिल्लो दिन असोज १६ गते भएको आदेशको पूर्ण पाठ आएपछि उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको जनाउँदै समेतले यस्तो अनुरोध गरेको हो ।बुधबार एक प्रेसम्मेलनको आयोजना गरी मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाद्वारा जारी विज्ञप्तिमा यस्तो भनिएको छ ।

    मारवाडी सेवा समिति अन्तर्गतको श्री पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको मोही रहेको र कोषका अन्य मोही सरह नै पशुपति गौशाला धर्मशालासँग व्यवहार हुनुपर्ने जनाउँदै काठमाडौँ जिल्ला अदालतको दाबी नपुग्ने फैसलाको विषयलाई लिएर समितिले पत्रकार सम्मेलनमा जनायो ।

    २०६० साल जेठ १२ गतेको पशुपति क्षेत्र विकास कोषसँग भएको सहयोग सम्झौतामाथि सम्मानित जिल्ला अदालतबाट भएको फैसलाको सम्बन्धमा जारी विज्ञप्तिमा भनिएको छ‘ भगवान पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको मारवाडी सेवा समिति नेपाल अन्तर्गतको श्री पशुपति गौशाला धर्मशाला नेपालको लामो गौरवमय इतिहास बोकेको एक धार्मिक एवं मानवीय सेवा कार्यमा समर्पित गैर नाफामूलक संस्थाको रूपमा रही आएको सर्वविदित छ ।’

    सो विज्ञप्तिमा पशुपति गौशाला धर्मशालाको विषयमा अगाडि भनिएको छ ‘ तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले वि.सं.१९९७ साल(८४ वर्षअगाडि) मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरूलाई बोलाइ थारा गाई, साँढे इत्यादिको संरक्षण , हेरचाह गर्न, सेवा कार्यहरू गर्न तथा श्री पशुपतिनाथको दर्शन गर्न आउने तीर्थालुहरूको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्था मनन गरी गौशाला र धर्मशाला एवं सेवा कार्य गर्न पशुपतिनाथ मन्दिर नजिकै हालको स्थानमा गौशाला एवं धर्मशाला बनाई सञ्चालन गर्ने लगायतका विभिन्न सामाजिक एवं मानवीय सेवाकार्यहरू गर्न  वर्तमान गौशाला धर्मशालाको जग्गा मारवाडी समाजलाई उपलब्ध गराइएको पृष्ठभूमिमा सोही बेला देखि नै मारवाडी समाजका महानुभावहरूले  आफ्नो  व्यवसायको केही अंश चन्दा स्वरूप प्रदान गरी यस पशुपति गौशाला धर्मशालाको निर्माण गर्दै गाई गोठ तथा आफ्ना पूर्वजहरूको स्मृतिमा कोठा, हल एवं मन्दिर निर्माण गर्ने कार्य भएको हो ।’

    गौशाला धर्मशालामाथि मारवाडी सेवा समितिको मोही अधिकारबारे विज्ञप्तिमा अगाडि भनिएको छ ‘ २०२१ सालको नापीको फिल्डबुक, मालपोतको श्रेस्ता र २०४४ सालको नापीको फिल्डबुक, गुठी संस्थानको श्रेस्ता र पशुपति क्षेत्र विकास कोषको मोही लगत नम्बर ८३७को अभिलेख बमोजिम आव ०८१÷०८२सम्मको मोहीले तिर्नुपर्ने बाली वापतको रकम बुझाइसकेका छौँ ।’

    श्री पशुपतिनाथ र अन्य मानवीय तथा समाजिक सेवामा यो गौशाला धर्मशालाले गर्दै आएको कार्यबारे जारी विज्ञप्तिमा भनिएको छ‘ यस गौशाला धर्मशालाबाट श्री पशुपतिनाथको अभिषेकका लागि स्थापनाकालदेखि अविछिन्न  रूपमा दैनिक २९ लिटर दूध निशुल्क पठाउने गरिउको छ । साथै गौशाला धर्मशाला भित्र हाल गौ सेवा, नेपालकै पहिलो निशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा प्रदान गरिनुका साथै वि.सं. २०५७ सालदेखि सञ्चालन हुँदै आएको निशुल्क कृत्रिम खुट्टा सेवा अन्तर्गत विभिन्न कारणबाट खुट्टा गुमाएका करिब ६ हजार जनालाई कृत्रिम खुट्टा वितरण गरिएको छ । धर्मशालामा बस्न आउने यात्रुहरूलाई सहुलियत दरमा आवास र शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको छ । साथै निशुल्क होमियोप्याथिक स्वास्थ्य परीक्षण एवं हरेक शनिबार करिब ५०० जना असहायहरूलाई  निशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ ।

    मारवाडी समाजका महानुभावहरू एवं विभान्न संघ संस्थाहरूबाट सहयोग संकलन गरी मारवाडी सेवा समिति नेपालले  आफ्नो सेवालाई थप विस्तार गरी झण्डै २० करोडको लागतमा मारवाडी सेवा समिति, राष्ट्रिय मिर्गौला उपचार केन्द्र डाइलाइसिस केन्द्र गौशाला काठमाडौँको नामबाट वरिष्ठ नेफ्रोलोजिस्ट मिर्गौला रोगा विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा हेल्थ केयर फाउण्डेशन नेपाल राष्ट्रिय उपचार केन्द्र वनस्थलीको विशेषज्ञ तथा प्राविधिक सहयोगमा मिर्गौला रोगीहरूलाई सेवा प्रदान गर्ने उद्देश्य अनुसार हाल परीक्षणको रूपमा श्री पशुपति गौशाला धर्मशालामा ३०वटा मेशिनबाट दैनिक ८०–९० जना मिर्गौला रोगीहरूको (नेपाल सरकारको विपन्न नागरिक कोष अन्तर्गत) निशुल्क डायलाइसिस गर्दै आइरहेको छ । श्री पशुपति गौशाला धर्मशाला र यसको समग्र परिसर निर्धारित उल्लेखित उद्देश्य अनुरूप सञ्चालनमा रहिआएको एवं यसबाट कुनै व्यक्ति, हाम्रो समुदाय वा संस्थाले कुनै पनि प्रकारको आर्थिक लाभ लिने कार्य नभएको निवेदन गर्दछौँ ।’

    पशुपति क्षेत्र विकास कोषसँगको विवादबारे सो विज्ञप्तिमा भनिएको छ ‘ २०६०/०२/१२को पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता बमोजिम सहयोग रकम समेत आव ०८१/०८२को बुझाइसकिएको छ । साथै मिति २०६०/०२/१२मा मारवाडी सेवा समिति नेपाल र श्री पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता सम्बन्धमा उठेको आपसी विवाद अख्तियार, विशेष अदालत हुँदै सम्मानित सर्वोच्च अदालतबाट समेत उक्त सम्झौता कानुन सम्मत रहेको छ भनी फैसला भएकोमा श्री पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको हजारौँ मोहीहरू मध्ये मारवाडी सेवा समिनि नेपाल अन्तर्गतको श्री पशुपति गौशाला धर्मशाला पनि सोही मोही जनिएको हुँदा अन्य मोहीसँगभए अनुसारको व्यवहारको हामीले अपेक्षा गरेका छौँ । श्री पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपालसँग थप सहयोग उपलब्ध गराउने विषयमा मिति २०६०/०२/१२मा सम्झौता गरेकोमा उक्त सम्झौता कोषले मिति २०८०/०४/१७ गते एकतर्फी निर्णय गरी भंग गरेकोमा सो निर्णय गैर कानुनी रहेको भनी मारवाडी सेवा समिति नेपालले निर्णय बदर गरी पाउन मिति २०८०/४/२४मा मुद्दा नम्बर ०८०–सीपी–०७२३(३९–०८०–०५२१७)मार्फत श्री पशुपति क्षेत्र विकास कोषको निर्णय विरुद्ध सम्मानित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त मुद्दा उपर सुनुवाई हुँदा निवेदकको दाबी नपुग्ने भनी घटस्थापनाको अघिल्लो दिन मिति २०८१/६/१६ गते सम्मानित जिल्ला अदालतबाट आदेश भएकोमा घटस्थापनादेखि कोजाग्रात पूर्णिमासम्म अदालत बिदामा रहने हुनाले उक्त आदेशको पूर्ण पाठ आएपछि मात्रै सो उपर उच्च अदालतमा पुरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको हुँदा उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रतिवादी श्री पशुपति क्षेत्र विकास कोषबाट कुनै पनि प्रकारले मारवाडी सेवा समिति नेपालबाट सञ्चालित श्री पशुपति गौशाला धर्मशाला सञ्चालनमा बाधा अड्चन नपु¥याउन सम्बन्धित सबैमा विनम्र हार्दिक अनुरोध गर्दछौँ ।’

    प्रतिक्रिया दिनुहोस