Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 162
    Shares

  • धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन

    पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा रु तीन करोड २० लाख लागतमा भवन निर्माण गरिएको हो । विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो । तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन् । जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ । महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो ।

    आश्रम भवनको सबैजसो काम सकिएको जनाइएको छ । चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट बिनियोजन भइसकेको जनाइएको छ । भवनमा एकपटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ । लुुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका स्थानबाट पछिल्लो समय पर्यटक आउने क्रम बढेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो । महाशिला हिँडेर एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने उहाँले बताउनुभयो । यहाँ एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायतका अवसरमा मेला लाग्ने गर्दछ । महाशिला गाउँपालिकाको नामाकरण पनि यही शिलाको नामबाट नामाकरण गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै दश रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा समेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो । महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोड रुपैयाको गुरुयोजना समेत बनाएको छ । गुरुयोजना अनुसार कामहरु अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताउनुभयो । (रासस)

    प्रतिक्रिया दिनुहोस